• १६ भदौ २०८१, आइतबार

ल्होमन्थाङमा भोट भाषा सिकाइँदै

blog

बेनी समाचारदाता 

म्याग्दी (बेनी), भदौ ७ गते । माथिल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिकाले भोट भाषा संरक्षणको प्रयास थालेको छ । सबै वडामा भाषा कक्षा सञ्चालन गरिएको छ । ल्होमन्थाङ गाउँपालिकाका उपाध्यक्ष छयुमी विष्ट गुरुङका अनुसार भाषा र संस्कृति संरक्षण गर्ने उद्देश्यले भोट भाषाको कक्षा सञ्चालन गरिएको हो । कक्षामा बौद्ध धर्म, संस्कृतिसम्बन्धी लिपि र भोट भाषाका बारेमा पठनपाठन गरिन्छ । गाउँपालिकाले भाषा शिक्षकको व्यवस्था गरेको छ । 

उहाँले भाषा, संस्कृति लोप हुन थालेपछि त्यसको संरक्षणका लागि भोट भाषा शिक्षा दिन थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “भोट भाषा र लिपिसम्बन्धी पाठ्यक्रम तयार पारी तीन महिनादेखि भोट भाषाको कक्षा सञ्चालन गरेका छौँ ।” धर्म, संस्कृति र भाषा संरक्षणका निम्ति भोट लिपि तथा  तिब्बतीयन अक्षर  महत्वपूर्ण हुने उहाँको भनाइ छ । गाउँपालिकाका पाँच वटा वडामा साँझ ७ बजेदेखि बेलुका ९ बजेसम्म कक्षा सञ्चालन हुने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष टसी न्ह्र्बु गुरुङले जानकारी दिनुभयो ।

अध्यक्ष गुरुङले भन्नुभयो, “भाषा सिक्ने अधिकांश महिला छन् । सबै वडामा गरेर एक सय पचास जनाले भाषा कक्षा लिइरहेका छन् । भाषा सिक्नेमा ३० देखि ६० वर्ष उमेर समूहका महिला छन् ।” भाषा कक्षा सञ्चालनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा छ लाख रुपियाँ बजेटको व्यवस्था गरेको उहाँको भनाइ छ । विद्यालयस्तरमा पनि गाउँपालिकाले भोट भाषाको पठनपाठन सुरुवात गरेको छ । पालिकाको राष्ट्रिय आधारभूत विद्यालय, झिन्जु आधारभूत विद्यालय र छोसेरको दिव्यदीप माविमा भोट भाषाको शिक्षा कार्यान्वयनमा ल्याइएको जनाइएको छ ।