• १६ भदौ २०८१, आइतबार

अबुँवा-बिर्दि-सेरा-पौबाटार सडक अवरुद्ध

blog

गुणबहादुर रोका

सुलीकोट, भदौ ६ गते । गोरखाको पालुङटार नगरपालिका र गोरखा नगरपालिका सिमानामा पहिरो जाँदा अबुँवा-बिर्दि-सेरा-पौबाटार सडक खण्ड अवरुद्ध भएको छ । बुधबार देखि परेको अविरल वर्षाका कारण बिहीबार दिउँसो १ बजे गोरखा नगरपालिका-१३ को हाँगेबाटोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । 

गोरखा नगरपालिका–१३ हाँगेबाटोमा माथिबाट आएको ठुलो चट्टान सहितको पहिरोले सडकमा ठुलाठुला ढुङ्गा र माटोले सडक ढाकिएको छ । पहिरोमा परी कुनै मानवीय क्षति नभएको गोरखा नगरपालिकाले जनाएको छ ।

ठुलो पहिरो तथा एकै सडकमा धेरै ठाउँमा पहिरो गएकाले गोरखा नगरपालिका र पालुङटार नगरपालिका कार्यालयको जेसिबि प्रयोग गरी पहिरो हटाउने प्रयास भइरहेको गोरखा नगपालिका नगरप्रमुख कृष्ण बहादुर राना मगरले जानकारी दिनुभयो । 

यस्तै, ४० मिटर माथिबाट खसेको पहिरोले २५ मिटर बाटो अवरुद्ध भएको छ । अहिले त्यस क्षेत्रबाट आवतजावत गर्ने सवारीसाधन तथा सर्वसाधारण दिउँसो १ बजेबाट रोकिएका छन् । अबुँवा–बिर्दि–सेरा–पौबाटार सडक खण्डमा गोरखा सदरमुकामदेखि तनहुँको आँबुखैरनी साथै डुम्रे र लमजुङबाट सवारीसाधनहरू आवतजावत गर्ने गरेको पालुङटार नगरपालिका–९ वडा अध्यक्ष भेषराज पाण्डेले बताउनुभयो । 

अहिले त्यस क्षेत्रमा गएको पहिरो पन्छाउन नेपाली सेना, नेपाल प्रहरीको टोलीको सहयोगमा पहिरो पन्छाउन लागि परेको गोरखा नगरपालिकाले जनाएको छ । अबको केही समयमा सवारीसाधन तथा सर्वसाधारणलाई हिँडडुल गर्न सहज गराउने प्रयास भइरहेको गोरखा नगरपालिकाले जनाएको छ ।