काबुल, भदौ ६ गते । अफगानिस्तानमा आएको बाढीका कारण १० जनाको मृत्यु भएको देशको राष्ट्रिय विपद् प्राधिकरणले बुधबार राती जनाएको छ ।
पछिल्लो केही दिनयता अफगानिस्तानका केही भागमा आएको आकस्मिक बाढीका कारण १० जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको प्राधिकरणका प्रवक्ता मुल्लाह जनान स्याकले बताउनुभयो ।
उहाँका अनुसार बाढीले निम्त्याएको प्राकृतिक प्रकोपका कारण १०० वटा आवासीय घरहरू पनि पूर्ण वा आंशिक रूपमा क्षति भएका छन् भने खेतीबालीमा समेत गम्भीर क्षति पुगेको छ ।
प्रान्तीय सरकारले सबै प्रान्तीय अधिकारीहरूलाई बाढी प्रभावितलाई तत्काल उद्धार गरी आवश्यक प्रक्रिया अघि बढाउन आदेश दिनुभएको छ ।
यो वर्षको मेपछि अफगानिस्तानमा वर्षाजन्य विभिन्न दुर्घटनामा करिब ४०० जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । रासस/सिन्ह्वा