• १६ भदौ २०८१, आइतबार

नेपालमा नयाँ सफलताको कथा लेख्ने बाटोमा छौँ : एमसिसीका आवासीय निर्देशक

blog

एमसिसी कार्यान्वयनबारे जानकारी दिन आयोजना गरिएको समीक्षात्मक अन्तरक्रिया कार्यक्रम ।

काठमाडौँ, भदौ ६ गते । नेपाली जनताको मन जित्नेगरी एमसिसी परियोजनाको काम भइरहेको दाबी सरोकारवाला उच्चअधिकारीहरूले दाबी गर्नुभएको छ । नेपालको विद्युत पूर्वाधार तथा सडक निर्माणमा सघाउने गरी नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसनबिच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसिसी) कार्यान्वयनमा गएको आउँदो साता एक वर्ष पूरा हुँदैछ ।

पूर्वाधार विकाससँगै नेपाली जनताको जीवनस्तर सुधार हुनेगरी पहिलो चरणको काम अघि बढाउँदा एक वर्षको कार्य प्रगति निकै सन्तोषजनक साझेदार निकायका पदाधिकारीले प्रष्ट पार्नुभएको हो ।

प्रक्रियागत सामान्य चुनौतीबाहेक कार्यान्वयनको एक वर्षमा ठुलो अवरोध सामना गर्नुनपरेको एमसिए नेपालले जनाएको छ । गत वर्ष भदौ १३ गतेदेखि कार्यान्वयनमा प्रवेश गरेको हो । विविध आरोह अवरोह र चुनौती झेल्दै कार्यान्वयनको चरणमा प्रवेश गरेको परियोजना अन्ततः पूर्वाधार विकासमा केन्द्रित हुने अवस्थामा पुगेको परियोजनाको नेपाल कार्यालय एमसिए नेपालले जनाएको छ ।

कार्यान्वयनको एक वर्षको समीक्षात्मक अन्तरक्रियामा नेपालका लागि एमसिसीको आवासीय निर्देशक डायना एल फ्रान्सिस्कोले पहिलो वर्षमा भएको प्रगति सकारात्मक बाटोमा अग्रसर रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “हामी यहाँ नेपालमा नयाँ सफलताको कथा लेख्ने बाटोमा छौँ, यो परियोजना नितान्त नेपाली जनताको हितको लागि हो ।”

उहाँका अनुसार तीनवटा सबस्टेसनको ठेक्कामा हस्ताक्षर, विद्युत् नियामक प्राधिकरणलाई प्राविधिक सहयोगको व्यवस्था, आयोजना प्रभावित समुदायलाई सहयोग गर्न एमसीए साझेदारी कार्यक्रमको थालनी, १८ किलोमिटर प्रसारण लाइनको ठेक्कामा हस्ताक्षर, वातावरणीय इजाजत प्राप्त तथा जग्गा अधिग्रहण कार्यहरूले उल्लेखनीय प्रगति गरेको छ । उहाँले कार्यान्वयनमा सघाउने नागरिक समाज, निजी क्षेत्र र अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा मन्त्रालय लगायतका बहुक्षेत्रीय सरकारी निकायहरूको प्रतिनिधित्व गर्ने निकायलाई धन्यवाद दिनुभयो ।

नेपालको विकासका लागि अमेरिकी सरकारको सहयोगको विस्तारित रूप रहेको औँल्याउँदै यसबाट नेपाललाई सीमापार विद्युत् व्यापारको सम्भावनालाई उजागर गर्दै ऊर्जाको दिगो विकासका लक्ष्य प्राप्तिमा सघाउने दाबी गर्नुभयो । परियोजनाले नेपालको सडक मर्मत सम्भार अभ्यासमा सुधार गर्दै दिगो जलवायु–स्मार्ट सडक सुधार प्रक्रियामा सघाउने विश्वास दिलाउनुभयो । एमसिसी परियोजनाले विश्वका ४६ देशमा साझेदारी गरिरहेको जानकारी दिनुभयो । 

नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनले महत्त्वाकाङ्क्षी परियोजनाका रूपमा नेपाली जनताको जीवनस्तर सुधार गर्दै देशको विकासमा सघाउन भूमिका खेल्ने भएकाले अझै साथ र सहयोग आवश्यक रहेको जानकारी दिनुभयो ।

केही प्रक्रिया अझै जारी भए पनि तोकिएको पाँच वर्षभित्रै परियोजनाका काम सकाउने गरी काम भइरहेको जानकारी एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले बताउनुभयो ।

एक वर्षको अवधिमा एमसीए–नेपालले नवलपरासी पश्चिम, नुवाकोट र तनहुँमा तीन स्थानमा ४०० केभी जीआईएस सबस्टेसन निर्माणका ठेक्का सम्झौता गरिएको छ । दुईवटा सबस्टेसन, नयाँ दमौली सबस्टेसन र रातमाटे सबस्टेसन प्रत्येक एक हजार एमभीए क्षमताको रहने र त्यो देशकै सबैभन्दा ठुलो सबस्टेसन हुने जनाइएको छ । 

त्यसैगरी, रातमाटे सबस्टेशनका आयोजना प्रभावित दुई सय ७० व्यक्तिका लागि दुई वर्षको १० लाख अमेरिकी डलर बराबरको जीविकोपार्जन पुनर्स्थापना कार्यक्रम सञ्चालन गरिएको छ । त्यस्तै १८ किलोमिटर अन्तर्देशीय प्रसारण लाइन खण्डको लागि ठेकेदार छनोट भएको छ ।

यस वर्षको अन्त्यसम्ममा २९७ किलोमिटर प्रसारण लाइनको बोलपत्र आह्वान  गरिने भएको छ । प्रसारण लाइन टावरको जग्गा अधिग्रहणका लागि दश जिल्लामध्ये नौ जिल्लाका अधिग्रहण कार्य सम्पन्न भएको छ । बाँकी रहेको काठमाडौँको अधिग्रहण यसै वर्ष सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढेको छ ।

आयोजना प्रभावित १० जिल्लामध्ये नौ जिल्लामा रुख गणनाको काम सम्पन्न भएको छ । काठमाडौँमा मात्र बाँकी छ । जस अनुसार ४७ हजार रुख काट्नुपर्ने र त्यसबापत सर्लाहीको सागरनाथको चारसय हेक्टरमा वृक्षारोपण गरिने भएको छ ।

बिजुली प्रसारण परियोजनाको एक महत्त्वपूर्ण भाग पावर सेक्टर प्राविधिक सहायताका लागि छुट्टै १२.२ मिलियन अमेरिकी डलर बराबरको सम्झौता यसै वर्ष भएको जानकारी विष्टले जानकारी दिनुभयो । नेपालको ऊर्जा क्षेत्रमा पारदर्शिता, दक्षता र प्रतिस्पर्धाको सक्षम वातावरण सिर्जना गर्ने लक्ष्य रहेको छ ।

त्यस्तै, पूर्व–पश्चिम राजमार्गको धनखोलादेखि लमहीसम्म सडकको ४० किलोमिटर खण्डमा सडक मर्मत सम्भार आयोजनाको प्रगति र अद्यावधिकसम्बन्धी प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पनि स्वीकृत भएको छ । यस वर्ष चाँडोभन्दा चाँडो फुल डेप्थ रिक्लेमेसन प्रविधि प्रयोग गरी सडक मर्मत सम्भार कार्यको खरिद सुरु गर्ने योजना बनाएको छ ।

दोस्रो वर्षको लक्ष्य अनुसार बाँकी २९७ किलोमिटर प्रसारण लाइनको ठेक्कामा हस्ताक्षर गरी दुवै प्रसारण लाइन र सबस्टेसन निर्माणमा अगाडि बढ्नेछ । प्रभावित सबै जिल्लामा जग्गाको भाडा तोक्ने र मुआब्जा वितरण गर्ने र अगाडि बढ्ने उहाँले बताउनुभयो । सडक मर्मतसम्भारको काम ठेकेदार छनोटसँगै हुने जनाइएको छ ।

पाँच वर्षभित्र सकिने गरी नेपाल र अमेरिकी सरकारबिच २०७४ सालमा एमसिसि अनुदान सम्झौता भएको हो । एमसीसी कम्प्याक्ट संसदबाट २०७९ साल फागुन १५ गते अनुमोदन भएको थियो । 

सुरुवाती सम्झौतामा एमसिसिका तर्फबाट ५० मिलियन डलर अनुदान र नेपाल सरकारले १३ मिलियन डलर लगानी गर्ने सहमति भएको थियो । गत वर्ष नयाँ सम्झौता गर्दै नेपाल सरकारले एमसीसी कम्प्याक्टमा आफ्नो लगानी ६.७० करोड अमेरिकी डलर थप गरेको थियो ।