• ९ मंसिर २०८१, आइतबार

गुणस्तरहीन दुध बिक्री

blog

रेखीराम राना

तानसेन, भदौ ५ गते । तानसेनमा सञ्चालित दुध डेरी पसलमध्ये ५० प्रतिशतले मापदण्ड विपरीतको दुध बिक्री गरेको पाइएको छ । तानसेनमा सञ्चालित १० वटा डेरी पसलमध्ये पाँच वटा पसलले गुणस्तर नपुगेको दुध बिक्री गरेको पाइएको हो । 

स्थानीय प्रशासन र जिल्लास्थित सरोकारवाला निकायले गरेको संयुक्त अनुगमनमा भैँसीको दुधको गुणस्तर कम भएको पाइएको हो । तानसेन बजारमा सञ्चालित डेरीको दुधको गुणस्तर कमजोर रहेको उपभोक्ताको गुनासोपछि प्रशासनले अनुगमन गरेको थियो । अनुगमनका क्रममा पाँच वटा डेरीले बिक्री गर्ने भैँसीको दुधको गुणस्तर नपुगेको फेला फेला पारेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख नरेश श्रेष्ठले बताउनुभयो । 

तानसेनका १० वटा डेरी पसलको अनुगमन गरी नमुना परीक्षण गर्दा पाँच वटा डेरीबाट बिक्री हुँदै आएको दुधको गुणस्तर पूरा नभएको भेटिएको श्रेष्ठले जानकारी दिनुभयो । दुधमा हुने ल्याक्टो र फ्याटको अवस्था कमजोर रहेको र दुधमा मिसावट पाइएको अनुगमनमा सहभागीले जनाएका छन् । 

तानसेनका लिपिन्देवी दुग्ध डेरी उद्योग, गोरस घर, जय किसान डेरी, पालुङ्गे गोरस घर, तानसेन दुग्ध उत्पादक कृषक समूह, र बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट विक्री भएको दुधको गुणस्तर नपुगेको पाइएको हो । अनुगमनको क्रममा कमजोरी गरेको डेरी पसललाई नगद जरिवाना गरिएको छ । अनुगमन संयोजक एवं पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी भक्तीसरा रानाले उपभोक्ताको अधिकार विपरीत कार्य गरेका डेरीहरूलाई सचेत गराई नगद जरिवाना गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, "उपभोक्ताको स्वास्थ्य प्रतिकुल दुध विक्री गर्ने पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरेका छौँ ।" उनीहरूलाई ऐनअनुसार नगद कारबाही गरिएको हो । 

तानसेनमा सञ्चालित अन्य डेरी पसलमा पनि सरसफाइ नगरेको, ब्राण्डिङ् नगरी उत्पादित वस्तुको विक्री गर्दै आएकाले सचेत गरिएको छ । पछिल्लो समय प्याकिङ भन्दा खुल्ला प्लास्टिकमा राखेर दुध बिक्री हुन थालेपछि गुणस्तर कमजोर भएको उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारीले जनाएका छन् ।