राधा नेपाली
सन्धिखर्क, भदौ ५ गते । अर्घाखाँचीमा ६५ हजार जग्गाधनीलाई पुनः लालपुर्जा वितरण भएको छ । २०६१ फागुन २० गते तत्कालीन नेकपा माओवादीले सदरमुकाम सन्धिखर्कमा आक्रमण गर्दा नापी र मालपोत कार्यालयका सम्पूर्ण लालपुर्जा, नक्सालगायतका कागजात जलेर नष्ट भएपछि जग्गाको पुनः नापजाँच गरी लालुपर्जा वितरण गरिएको हो ।
२०६८ सालमा विशेष नापी कार्यालय स्थापना गरी जिल्लाका जग्गा नाप जाँच सुरु गरिएको थियो । हालसम्म जिल्लाभर ६५ हजार थान लालपुर्जा वितरण गरिएको विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख डिल्लीराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ४७ वटा वडाको नक्सा र फिल्डबुक नापी कार्यालयमा स्रेस्तालगायतका अन्य कागजात मालपोत कार्यालयमा हस्तान्तरण गरिएको छ । १४ वटा वडामा भने लालपुर्जा वितरण भएको तर स्रेस्ता हस्तान्तरण गर्न बाँकी छ ।
अर्घाखाँचीका ६१ वटै वडामा रहेका जग्गाका नापनक्सा तथा जग्गा दर्ता सम्पन्न भएको छ । जिल्लाका तीन नगरपालिकामध्ये शीतगङ्गा नगरपालिका–१, २, ३ र १२, भूमिकास्थान नगरपालिका–१, २ र ३, सन्धिखर्क नगरपालिका–७ र ८ मा स्रेस्ता हस्तान्तरण भइरहेको छ । त्यस्तै तीन गाउँपालिकामध्ये मालारानी–५, ८ र ९, छत्रदेव–७ र पाणिनी गाउँपालिका–१ मा स्रेस्ता हस्तान्तरणको काम भइरहेको प्रमुख भण्डारीले बताउनुभयो । कतिपयका साबिक नक्सा प्राप्त हुन नसकेको तथा व्यक्तिका घरमा आगलागी जस्ता प्रकोपमा परेकाको प्रमाण नष्ट भएकाले जग्गा दर्ता कार्यमा कठिनाइ भएको उहाँले बताउनुभयो । लालपुर्जा प्रदान गरे पनि स्रेस्ता मालपोत र नापीमा जानका लागि १२० दिन कुर्नु पर्छ । किनकि ६० दिनभित्र कसैको उजुरी आएमा कार्यालयले ६० दिनभित्र निर्णय दिनुपर्ने व्यवस्था छ ।