• १६ भदौ २०८१, आइतबार

झरनामा झुम्दै पर्यटक

blog

सुन्दर कोप्रे झरनामा रमाउँदै पर्यटक ।

म्याग्दी समाचारदाता 

म्याग्दी, भदौ ५ गते । सदरमुकाम बेनी बजारबाट करिब तीन किलोमिटरको दुरीमा रहेको म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा पर्ने कोप्रे झरनामा आन्तरिक पर्यटकको चहलपहल देखिन थालेको छ । यहाँ दैनिक सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् । बेनी बजारदेखि पदयात्राबाट पुग्न सकिने भएकाले पनि दैनिक रूपमा सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् ।

सन् २०१९ को अन्तिमबाट सुरु भएको कोभिड–१९ पछि अलिक बढी चर्चा हुन थालेको कोप्रे झरनामा अहिले भने बेनीमा आइपुगेका अन्यत्रका पर्यटक पनि आउने गरेका छन् । 

नयाँ पर्यटकीय गन्तव्यका रूपमा मानिने कोप्रे झरनामा पर्यटकको आकर्षण बढ्दै गएपछि स्थानीय पनि उत्साही हुन थालेका छन् । म्याग्दीका पर्यटकीय स्थलमा पर्यटकको चहलपहल बढेको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव नारायण जिसीको भनाइ छ । बेनी नगरपालिका–२, ज्यामरुककोट र ३ भकिम्लीको दुधेखोलानजिकै पर्ने कोप्रे झरनामा दिनहुँ पर्यटक पुगेर रमाउने गरेको जिसी बताउनुहुन्छ । 

आन्तरिक पर्यटक तथा अहिले पछिल्लो समयमा कोप्रे झरना भनेर चर्चामा आएको भए पनि स्थानीयले उक्त झरनालाई ‘कोप्रे छहरा’ भन्छन् । म्याग्दी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष बेलबहादुर कटुवालले खास गरी शनिबार तथा बिदाको दिनमा पर्यटकको घुइँचो लाग्ने गरेको जानकारी दिनुभयो । म्याग्दीको सदरमुकाम बेनी बजारदेखि नजिकै रहेको झरनामा हिजोआज सयभन्दा धेरै जनाको हाराहारीमा पर्यटक पुग्ने गरेका छन् । बेनी–बगरफाँट–भकिम्ली सडकसँगै जोडिएर रहेको कोप्रे झरनामा ससाना बालबालिकादेखि अधबैंसे उमेर समूहका मानिससमेत पुग्छन् । 

यहाँ भकिम्ली, ज्यामरुककोट, दुधेखोला, बगरफाँट र बेनी बजार आसपासका क्षेत्रबाट मानिस पुगेर घुम्ने, फोटो खिच्ने र रमाउने गर्दथे । बेनी बजारदेखि कोप्रे झरनामा पुग्दा निकै रमाइलो भएको आन्तरिक पर्यटक दुर्गामाया रोकाले बताउनुभयो । कोप्रे झरना हिउँदमा केही सानो भए पनि बर्सातको समयमा निकै ठुलो हुने गर्दछ । पर्यटक बढ्दै गएपछि गत वर्ष एक लाख रुपियाँको लागतमा पर्यटकलक्षित प्रतीक्षालय निर्माण गरिएको छ । आवश्यकता अनुसारको पूर्वाधार थप गरिने वडा कार्यालयले जनाएको छ ।