• ९ मंसिर २०८१, आइतबार

तरकारीको मूल्य दोब्बर वृद्धि

blog

मोरङको उर्लाबारी–पथरीशनिश्चरे तरकारी बिक्री गरिँदै । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला
उर्लाबारी, भदौ ५ गते । वर्षाले पहाडका ग्रामीण सडक भत्केपछि तरकारीको ढुवानी खर्च बढेको भन्दै व्यापारीले तरकारीको मूल्य जथाभावि बढाएका छन् । आफैँ तरकारी उत्पादन गरेर बिक्री गर्ने किसानले भने राम्रो मूल्यमा तरकारी बिक्री गर्न पाएका छन् ।

तरकारी बजार ल्याउनु पूर्व बजार भाउ सोधेर मात्र बोरा खोल्ने किसान यति बेला आफ्नो तरकारीको मूल्य आफैँ निर्धारण गरिरहेको बताउँछन् । मोरङको रतुवामाई –३ महादेवाका तरकारी किसान यमलाल दासले भन्नुभयो, ‘‘दुई विगाहामा लगाएको तरकारीले राम्रो मूल्य पाएको छ ।’’ अहिले यमलालको परिवारका सबै सदस्य तरकारी बिक्री गरिरहनुभएको छ । अरु बेला थोकमा बिक्री गर्थे । साउन १५ यता आफैं बेचिरहेको दास बताउनुहुन्छ । दासको बारिमा अहिले भिन्डी, भान्टा, बोडी, करेला, लौका र खोर्सानी लगायतका तरकारी छन् । 

दासमा मात्र होइन, पथरीशनिश्चरे ६ केचनाका तरकारी उत्पादक इन्द्रजीत मण्डल पनि आफ्नो उत्पादन आफैँ बिक्री गरिरहनुभएको छ । उहाँले भारतबाट तरकारी आउने क्रम कम हुनासाथ हाम्रो उत्पादनले राम्रो मूल्य पाउने बताउनुभयो ।
‘‘पहिले ठूला व्यापारीलाई सोधेर आफ्नो तरकारीको मूल्य निर्धारण हुन्थ्यो । अहिले आफ्नो तरकारीको मूल्य आफैँ तोकेर बेचिरहेका छौं ।’’ उहाँले भन्नुभयो, ‘‘ अघिल्लो बजारमा प्रति केजी ५० रुपियाँ बिक्री गरेको भिन्डी मङ्गलबारको हाटमा ८० रुपियाँ केजीले बिक्री भयो ।’’

रतुवामाई –५ कोइलीडाँगीका मनोज दासले भन्नुभयो, ‘‘१० कट्ठामा पिडालु लगाएको छु । अघिल्लो साता ८० रुपियाँ किलो बिक्री गरेको पिडालु मङ्गलबार सय रुपियाँ किलो बिक्री भयो ।’’ उहाँले पिडालुसँगै झिगनी, घिरौलालगायतका तरकारी लगाउनुभएको छ । यही मूल्यमा तरकारी बिक्री गर्न पाए १० कट्ठाबाट एक लाख ५० हजारको तरकारी बिक्री हुने दासको भनाइ छ ।

सामान्यता पूर्वमा साउन तेस्रो सातादेखि भदौभर तरकारीको मूल्य वृद्धि हुने गर्छ । तर पहाडमा ग्रामीण सडक सञ्जाल नबिग्रीदा तरकारीको मूल्य खासै नबढ्ने तरकारी व्यापारीहरू बताउँछन् । साउन २० गतेसम्म प्रति केजी ५०/५५ रुपियाँ खुद्रा मूल्यमा पाइने टमाटरको मूल्य केजीको १२० पुगेको छ । ४० रुपियाँ केजीको भिन्डीको मूल्य ८० रुपियाँ पुगेको छ ।  यस्तै, ६० रुपियाँ प्रति केजीको प्याज एक सय रुपियाँ पुगेको छ ।

यस्तै, लसुन ४ सय रुपियाँ किलो पुगेको छ । लसुन साता अघि २५० रुपियाँदेखि तीन सयमा बिक्री हुँदै आएको व्यापारी अनुप साहले बताउनुभयो । आलुको मूल्य समेत किलो मै ४० रुपियाँ बढेको छ । साउन तेस्रो साता ४० रुपियाँ किलोको नयाँ पहाडे नेपाली आलु मङ्गलबार ८० रुपियाँमा बिक्री भएको थोक बिक्रेता रमेश साहले बताउनुभयो । बजारको सबैभन्दा सस्तो मूल्यको तरकारी स्कुसको मूल्य भने घटेको छ । ६० रुपियाँ प्रति किलोमा बिक्री भएको स्कुल मङ्गलबार ४० रुपियाँमा बिक्री भयो । साउन अन्तिममा ३० रुपियाँमा बिक्री भएको निगुरो अहिले ५० रुपियाँ मुठ्ठामा बिक्री भएको छ ।