नवराज कट्टेल
विराटनगर, असार १२ गते । कोशीमा बिजुलीका ट्रान्सफर्मर चोरी भएर नेपाल विद्युत् प्राधिकरण हैरान बनेको छ । पछिल्लो तीन महिनामा सुनसरी, झापा र मोरङमा छ वटा ट्रान्सफर्मर चोरी भइसकेका छन् । चोरीमा संलग्न अहिलेसम्म पक्राउ परेका छैनन्, जसका कारण नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश कार्यालयमातहत कार्यलयका प्रमुख हैरानमा परेका छन् ।
प्राधिकरणको कोशी प्रदेशका प्रमुख राजीवकुमार सिंहका अनुसार बस्ती नभएको क्षेत्रमा चोरी हुने गरेका छन् । शाखा लाइन विस्तार गरेर राखिएका खेती भएको क्षेत्रमा ट्रान्सफर्मर चोरी भएका हुन् ।
प्रमुख सिंहले चोरीमा संलग्नहरू ट्रान्सफर्मर र विद्युत्को ज्ञान भएका व्यक्ति रहेको अनुमान गर्न सहजै सकिने बताउनुभयो । यसमा भारतीयको संलग्नता हुन सक्ने अनुमान छ । ट्रान्सफर्मरको खोल छोडेरभित्रको तामा मात्रै झिकेर लाने गरिएको छ । एउटा ट्रान्सफर्मरभित्र एक सय केजी तामा हुने गरेको छ । तामा प्रतिकेजी दुई हजार रुपियाँ पर्ने सिंहले जानकारी दिनुभयो । प्राधिकरणले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई चोरीमा संलग्नको पहिचान गरी नियन्त्रणपछि कानुनी कारबाहीका लागि निवेदनसमेत दिइएको छ ।
प्रादेशिक कार्यालयको तथ्याङ्क अनुसार २०८२ वैशाख ३ गते बेलबारी वितरण केन्द्र अन्तर्गत सुन्दरहरैँचा नगरपालिका–२, जोगीहारेको ५० केभिए ट्रान्सफर्मर चोरी भएको थियो । २०८२ जेठ २२ गते रङ्गेली वितरण केन्द्र अन्तर्गत रङ्गेली नगरपालिका–७ को ५० केभिए, २०८२ जेठ २३ गते रङ्गेली वितरण केन्द्र अन्तर्गत रङ्गेली नगरपालिका–१, जिरायत टोलको एक सय केभिए ट्रान्सफर्मर चोरी भएको छ ।
यसै गरी दमक वितरण केन्द्र धरमपुर खानेपानी शिवसताक्षी–१ मा रहेको एक सय केभिए ट्रान्सफर्मर जेठ ३१ गते, इटहरी वितरण केन्द्र अन्तर्गत वराहक्षेत्र नगरपालिका–९ राजाबासको एक सय केभिए ट्रान्सफर्मर असार ९ गते चोरी भएको हो । यसअगाडि वैशाख २० गते मोरङको ग्रामथान गाउँपालिका–५, झपटाटोलमा समेत ट्रान्सफर्मर चोरिएको थियो । प्रादेशिक प्रमुख सिंहका अनुसार एउटा एक सय केभिएको ट्रान्सफर्मर चोरी हुँदा १० देखि १२ लाख रुपियाँ क्षति हुन्छ । ५० केभिएको छदेखि सात लाख नोक्सान हुन्छ ।
एकान्तमा भएका ट्रान्सफर्मर चोरी हुँदा संलग्नको पहिचानमा समस्या हुने गरेको छ । प्रमुख सिंहका अनुसार ट्रान्सफर्मर चोरी हुँदा सिँचाइ र खानेपानीका उपभोक्ता बढी मारमा पर्ने गरेका छन् ।
बारम्बार ट्रान्सफर्मर चोरी हुँदा त्यसको व्यवस्थापन गर्न समस्या हुने गरेको छ । विद्युत्को ज्ञान भएको र ट्रान्सफर्मर खोल्ने सिप भएका व्यक्ति संलग्न भएर प्राधिकरणको सेवा बारम्बार अवरुद्ध पारिरहेको सिंहले बताउनुभयो ।