• १६ भदौ २०८१, आइतबार

अठेरीखोलामा आएको बाढीले मोटरसाइकल बगायो

blog

मीना कंडेल
कावासोती, भदौ ४ गते ।
 निरन्तर वर्षा हुँदा मध्यविन्दु नगरपालिका वडा नम्बर ९ बसन्तपुरस्थित अठेरीखोलाको पुल भत्किदा खोला तर्ने क्रममा मोटरसाइकल बगाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार निरन्तर वर्षाका कारण विभिन्न ठाउँमा बाटो अवरुद्ध भएका छन् ।

सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले अठेरी खोला तर्ने क्रममा हुप्सेकोट गाउँपालिका ३ का ४१ वर्षीय देवबहादुर फाल र २० वर्षीया छोरी तुलसी फाल मगर सवार ना २८ प ६९५ नम्बरको मोटरसाइकल बाढीले बगाएको बताउनुभयो ।

मोटरसाइकलमा सवार दुई जनाको भने सकुशल उद्धार गरिएको छ । अठेरी खोलामा बाढी आएका कारण मध्यविन्दु ९ को वसन्तपुर र मध्यविन्दु ७ अम्रसामा आवतजावत ठप्प भएको छ ।

यस्तै लगातारको भारी वर्षाका कारण कालिगण्डकी कोरिडोर पूर्णरुपमा अवरुद्ध भएको छ । बौदीकाली गाउँपालिकाका वडा नं. ३ जन्तीपहिरोमा लेदोसहितको पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको हो । रातीदेखि लगातार पानी परिरहेकाले सडक मर्मतको काम सुरु हुन नसकेको पौडेलले बताउनुभयो । उहाँले पानी रोकिएपछि मात्र काम सुरु हुने जानकारी दिनुभयो ।

नवलपुरमा मङ्गलबार बिहानबाट निरन्तर भारी वर्षा भइरहेको छ । पछिल्लो ६ घण्टामा नवलपुरको डण्डास्थित वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा भारी वर्षा मापन गरिएको छ ।