• १६ भदौ २०८१, आइतबार

लोकमार्ग निर्माणले खानेपानीमा समस्या

blog

कास्कीको मादी गाउँपालिका–७ मा खनिएको मध्यपहाडी लोकमार्ग ।

फडिन्द्र अधिकारी

लेखनाथ, भदौ ४ गते ।  कास्कीको मादी गाउँपालिका र पोखरा महानगर खण्डमा मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा खानेपानीको मुहान पुरिएको छ । पोखरा महानगरको साबिक लेखनाथ नगरपालिकामा खानेपानी आपूर्ति गर्दै आएको लेखनाथ खानेपानी उपभोक्ता संस्थाको मादी–७ को गिउजे खोलाको मुहान पुरिएको हो । 

गएको हिउँदमा लोकमार्ग निर्माणका क्रममा बाटोमुनि रहेको माटो र आएका दर्जनौँ पहिरा गिउजे खोलामा पुगेपछि मुख्य मुहानबाट खानेपानी आपूर्ति नै बन्द भएको छ । लेखनाथ क्षेत्रमा १६ हजार छ सय धारामार्फत संस्थाले खानेपानी वितरण गर्दै आएको छ । यो क्षेत्रमा खानेपानी संस्थानको सेवा छैन । संस्थाले सवा लाख बासिन्दालाई खानेपानी उपलब्ध गराउँदै आएको छ । 

वर्षामा अस्थायी मूलसहित बोरिङबाट खानेपानी आपूर्ति गरिएको छ । संस्थाका अध्यक्ष मुरारी शर्माले वैशाख लागेपछि मुख्य मूलबाट खानीपानी आपूर्ति बन्द भएको उल्लेख गर्नुभयो । पानीमा लेदो माटो आइपुगेको र मुहानसमेत पुरिएकाले समस्या भएको हो । उहाँले भन्नुभयो, “अहिले बर्खाभरि आउने अस्थायी मूलबाट पानी ल्याएका छौँ । मुख्य मुहानबाट पानी नै ल्याउने अवस्था छैन । आठ वटा बोरिङ र दुई सम्प वेल (गहिरा र ठुला इनार) बाट खानेपानी आपूर्ति गरे पनि उपभोक्ताको माग धान्न सकिएको छैन ।” 

अस्थायी मूल असोजपछि सुक्ने भएकाले यो क्षेत्रमा खानेपानीको हाहाकार हुने निश्चित छ । समस्या समाधानका लागि सङ्घीय खानेपानी मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमार्फत सरोकारवाला सबैको ध्यानाकर्षण गराइएको शर्माको भनाइ छ । यो आर्थिक वर्ष सङ्घीय खानेपानी मन्त्रालयले खानेपानी उपभोक्ता संस्थालाई करिब चार करोड बजेट विनियोजन गरेको छ । 

अहिलेको गिउजे खोलाको आयोजानको मुहाननजिकै थप १५ रोपनी जग्गा किनेर पानी पोखरीमा थिग्राएर पठाउने योजना एकातिर छ भने अर्कातिर मादी–७ कै लोकमार्गभन्दा माथि वन क्षेत्रबाट गिउजे खोलाबाट पानी ल्याउने विकल्प पनि छ । उपभोक्ता संस्थाका सल्लाहकार विश्वप्रकाश लामिछाने लेखनाथ क्षेत्रमा खानेपानीको दिगो आपूर्तिका लागि मूल सार्नुको विकल्प नभएको उल्लेख गर्नुहुन्छ । 

उहाँले भन्नुभयो, “लोकमार्गभन्दा माथि मुहान सार्नुको विकल्प छैन । त्यहाँ वरपर बस्ती पनि छैन । लेखनाथ क्षेत्रलाई पुग्ने पानी पनि छ ।” सङ्घीय मन्त्रालयले दिएको बजेट र उपभोक्ता संस्थासँगै भएको कोषबाट त्यसो गर्नुको विकल्प नभएको उहाँको दाबी छ । उहाँ भन्नुहुन्छ, “अब केही वर्षसम्म त्यहाँ सानातिना पहिरो आइरहन्छन्, मुहान पुरिइरहन्छ । त्यसैले मुहान नै स्थानान्तरण गर्नुको विकल्प छैन ।” मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख शम्भु आचार्यले खानेपानी उपभोक्ता संस्थाको पत्र प्राप्त भएको र समस्या समाधानका लागि उचित विकल्प निकालिने उल्लेख गर्नुभयो । उपभोक्ता संस्थाले खानेपानीको बढ्दो माग पूरा गर्न आयोजनाको क्षमता तेब्बर बनाउन काम गरिरहेको छ । 

४४ करोड लगानी हुने अनुमान गरिएको आयोजना पूरा नहुँदै लोकमार्गका कारण मुख्य मूल नै सार्नुपर्ने अवस्था आएको छ । मादी–७ का बासिन्दा लालबहादुर गुरुङ लोकमार्गका कारण ठाउँ ठाउँमा पहिरो गएको र केही ठाउँमा सडक खनिएको बाटो पनि खोलामा पुगेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चाँडै अहिलेको मूल सफा हुने अवस्था छैन, लोकमार्गको सुरुवाती ट्रयाक खुलेको हो, चाक्लो बनाउन अझै बाँकी छ ।”