• ९ मंसिर २०८१, आइतबार

श्रीलङ्का टप्पुमा बगर खेती

blog

बाबुराम कार्की
वराहक्षेत्र, भदौ ३ गते । 
नदी उकास क्षेत्रमा रहेको श्रीलङ्का टाप्पुमा बगर खेती गरिने भएको छ । चारैतिरबाट कोसी नदी सुसाउँदै बगिरहने ठन्डा हावा पानी र स्वच्छ वातावरण रहेको टापुमा किसानहरूले बगर खेती गर्ने भएका छन् । टप्पुमा किसानहरूलाई बगर खेतीतर्फ आकर्षण गराउन वराहक्षेत्र नगरपालिकाले बगरखेती कार्यक्रम सुरु गरेको छ ।

नगरका बजारहरूमा बाहिरबाट आउने दैनिक उपभोग्य सामग्री न्यूनीकरण गर्न र नगर क्षेत्रका कृषकलाई आत्म निर्भर बनाउन बगर खेती लाभदायक हुने वराहक्षेत्र नगरपालिकाले जनाएको छ ।

वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ का  टप्पुवासी कृषकहरूलाई नदी उकास क्षेत्रमा तरकारी खेती गरी जीविकोपार्जनका लागि कृषकहरूलाई व्यावसायिक रूपमा बगर खेती प्रवर्द्धन कार्य सुरु गरेको बताइएको छ । बगरमा किसानहरूले तरबुजा, काँक्रो, लौकालगायतका तरकारी र फलफूलका बिरुवा लगाउने भएका छन् ।

वराहक्षेत्र नगर कृषि विकास शाखाका प्राविधिक निरकुमार राईका अनुसार नगदेबालीको पकेट क्षेत्रको रूपमा रहेको टप्पुमा किसानरतलाई बगर खेतीतर्फ पनि आकर्षण गराउन वराहक्षेत्र नगरपालिकाले कार्यक्रम अगाडि सारेको छ । टप्पुका टप्पुमा रहेका बगरहरूलाई प्रयोगमा ल्याई नगदेबालीका साथसाथै बगर खेती गरिने भएको उहाँले बताउनुभयो ।

कृषकहरूले प्रमुख बालिकारुपमा मकै, बोडी, खौर्सानी, टमटर, काउली, भेन्टालगायतका बालीहरूको खेती गर्दे आएका थिए । जिवीकाको प्रमुख स्रोत खेती र पशुपाल गर्दै आएका टाप्पु बासीलाई व्यवस्थित रूपमा व्यावसायिक बगर खेतीको लागि पालिकाले सहयोग गर्ने भएको नगर प्रमुख रमेश कार्कीले बताउनुभयो । 

नगरपालिकाले व्यावसायिक र आधुनिक रूपमा खेती गर्न कृषकहरूलाई बगर खेती प्रवर्द्धन कार्यक्रम अगाडि ल्याइएको नगरपालिकाका कृषि विकास शाखाका प्राविधिक निरकुमार राईले बताउनुभयो । पालिकाले कृषकहरूलाई व्यावसायिक तरकारी खेती गर्नका लागि स्थानीय गरैया कृषि सहकारीमार्फत रासायनिक मल, उन्नत जातको बीउ, सिँचाइका सामग्रीहरू वितरण गर्दै आएको जनाइएको छ ।

नगदेबालीका लागि पकेट क्षेत्र रहेको टप्पुमा बगर खेती प्रवर्द्धनका लागि स्थानीय कृषकलाई बीउ र मलखाद वितरण तथा अभिमुखीकरण कार्यक्रम समेत पालिकाको कृषि शाखामार्फत हुँदै आएको बताइएको छ । तरकारी खेती गरेर आम्दानीमा लागेका कृषकहरूलाई बगर खेती कार्यक्रमले थप फाइदा हुने स्थानीय गरैया कृषि सहकारी संस्थाका अध्यक्ष बद्री राईले बताउनुभयो । किसानहरूलाई कम्पोष्ट मल, काँक्राको बीउ, टमाटरको बीउ र खोर्सानीको बीउ वितरणका साथै अभिमुखीकरण गरिएको थियो ।

वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६, ९ बेलकाको २ र ३ वडा पर्ने टापु १४ किलोमिटर लम्बाइ र ५ किलोमिटर चौडाइको क्षेत्रफलमा फैलिएको छ । टापुमा  नौ सय घरपरिवारका ७ हजार बढी सङ्ख्यामा मानिसहरूको बसोबास रहँदै आएको छ ।