• १९ असार २०८१, बुधबार

उम्मेदवारका प्रतिबद्धता कार्यान्वयनका लागि लिखित करारनामा

blog

सिराज खान
नेपालगञ्ज, वैशाख २४ गते ।
निर्वाचनको बेलामा गरिएका प्रतिबद्धता पूरा गराउन मतदाताले उम्मेदवारहरुसँग लिखित करारनामा गराउन थालेका छन् । नागरिकप्रति जवाफदेही र चुनावमा व्यक्त गरिने प्रतिबद्धताको कार्यान्वयनका लागि करारनामा गर्न थालिएको हो । 

 सुशासन र सूचनाको हकको क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले स्थानीय निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरुसँग कारारनामासहितको प्रतिबद्धता गराइरहेकोे संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो । घरदैलो गरिरहेका उम्मेदवारहरुसँग मतदाताको तर्फबाट सो करारनामा गराउने कार्य भइरहेको तिवारीले बताउनुभयो ।

सत्ता गठबन्धनको तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका प्रशान्त विष्ट र राप्रपाबाट प्रमुखका उम्मेदवार नन्दलाल वैश्यले करारनामामा सहीछाप   हस्ताक्षर गर्नुभएको छ ।

करारनामामा नागरिकका सवाल, समस्या, विकास, गुणस्तरीय सेवा, सुुशासन, पारदर्शीता र जवाफदेहितालगायत विभिन्न विषयवस्तु समेटिएको आठ बुँदा  रहेको छ ।संस्थाले यो करारनामामा प्रायः सबै पदका उम्मेदवारहरुको हस्ताक्षर गराउने छ ।

हस्ताक्षर गरेपछि गठबन्धनका प्रमुखका उम्मेदवार विष्टले आफूले जनतासँग गरेका हरेक प्रतिबद्धता शतप्रतिशत पूरा गर्ने भएकोले करारनामामा हस्ताक्षर गरेको बताउनुभयो ।यस्तै, राप्रपाका प्रमुखका उम्मेदवार वैश्यले पनि निर्वाचनको बेला गरिएको सबै प्रतिबद्धता पूरा गर्नकै लागि करारनामामा हस्ताक्षर गर्नमा कुनै समस्या नभएको बताउनुभयो ।

मतदाताको घरमा भोट माग्न आउने उम्मेदवारलाई यो करारनामामा हस्ताक्षर गराउन मतदातासँग संस्थाका अध्यक्ष तिवारीले आग्रह गर्नुभएको छ । उहाँका अनुसार निर्वाचन नागरिकलाई सार्वभौम र स्वतन्त्र बनाउने अभियान भएकाले यसले नागरिकलाई विवेकपूर्ण तरिकाले आफूले चाहेको विकास र परिवर्तनको काम गर्न सक्ने योग्य र इमान्दार जनप्रतिनिधि चयन गर्ने र उनीहरूको वाचा र काम प्रति वस्तुनिष्ठ निगरानी राख्ने अवसर प्रदान गर्दछ ।

लिखत करारनामाको आधारमा निर्वाचित जनप्रतिनिधिहरूको कामको मूल्याङ्कन गरिने सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले जनाएको छ । यसले जनप्रतिनिधिलाई जवाफदेही र नागरिकलाई कर्तव्यनिष्ठ बनाई लोकतन्त्रलाई बलियो, नतिजामुखी र दिगो बनाउने काम गर्ने पनि केन्द्रका अध्यक्ष तिवारीले बताउनुभयो ।