• १९ असार २०८१, बुधबार

स्थानीय तह निर्वाचन

दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारका एजेण्डा मतदाताबीच लाेकप्रिय

blog

स्वतन्त्र अध्यक्षका उम्मेदवार दीपेन्द्रकुमार श्रेष्ठ, माया गुरुङ, हरेराम कार्की

सिन्धुपाल्चोक, वैशाख २५ गते । सिन्धुपाल्चोकका १२ स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरु मतदातासँग एजेण्डा प्रस्तुत गर्दे लोकप्रिय हुन थालेका छन् । तीन नगरपालिका र नौ गाउँपालिका रहेको सिन्धुपाल्चोकमा दर्जनाैं स्वतन्त्र उम्मेदवार गाउँ–गाउँमा मत माग्न पुगिरहेका छन् । 

नेपाल–चीन सीमा क्षेत्र भोटेकोशी गाउँपालिकामा स्थानीय सामाजिक युवा दीपेन्द्रकुमार श्रेष्ठले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएसँगै सो गाउँपालिकाबासीहरु ग्रामीण क्षेत्रको विकास हुनेमा विश्वस्त हुन थालेका छन् । सो गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्षको जिम्मेवारी निर्वाह गर्दा जनताका माझ लोकप्रिय बन्नुभएका श्रेष्ठले पालिका अध्यक्षमा उम्मेदवारी दिएपछि उहाँको पक्षमा भोटेकोशीबासी उत्साहपूर्वक मत दिन उत्साही भएका छन् ।

तातोपानी नाकालाई पूर्णरुपमा खुलाउन पहल गर्ने, दीर्घरोगीलाई वार्षिक एक लाख औषधि उपचारमा सहयोग गर्ने, एम्बुलेन्स खरिद गरेर जनतालाई निःशुल्क सेवा दिने, पालिकाभित्र रहेका जलविद्युत आयोजनामा जनतालाई शेयर उपलब्ध गराउने, भोटेकोशी गाउँपालिका बाढीपहिरोग्रस्त क्षेत्र भएकाले बाढीपहिरो नियन्त्रण र रोकथामका साथै सुरक्षित आवासका लागि लाग्ने, मालपोत, जन्म, विवाह, मृत्युदर्ता सम्बन्धीका सेवालाई निःशुल्क बनाउने, सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गर्ने, पालिकाबाट दिने सेवाहरु व्यवस्थित र सहज बनाउने, आधुनिक सूचना प्रविधिको समुचित प्रयोग गदै पालिकाबाट दिने सबै विकास निर्माण, आयव्यय विवरण पारदर्शी गर्नेलगायतका एजेण्डाले श्रेष्ठ जनतामाझ लोकप्रिय बन्नुभएको छ । श्रेष्ठले लालटिन चुनाव चिन्ह पाउनुभएको छ । 

पाँचपोखरी गाउँपालिका स्वतन्त्र उम्मेदवार उठनुभएकी सगरमाथा आरोही माया गुरुङले भष्ट्राचारमुक्त गाउँपालिका बन्दै बनाउन आफूलाई मतदान गर्न जनतालाई आग्रह गरिरहनुभएको छ । पाँचपोखरी गापालाई ‘अन्तर्राष्ट्रिय पर्यटकीय हब’ बनाउन उम्मेदवारी दिएको बताउनुहुन्छ । पाँचपोखरीमा अग्ला अग्ला हिमाल छन् । खोला, नाला, झरना, पुराना मठमन्दिर, गुम्बा छन् । प्राकृतिक सम्पदालाई समुचित उपयोग गदै स्वरोगार बनाउने र डलर कमाउने कामले पालिकाबासीको जीवनस्तर उकास्ने योजना गुरुङले अघि सार्नुभएको छ । उहाँले धारा चिन्ह पाउनुभएको छ । 

स्वतन्त्रबाट सुनकोशी गाउँपालिका अध्यक्षमा हरेराम कार्की मतदातासँगको भेटघाटलाई तीव्रता दिएका छन् । पाँच वर्षमा जनप्रतिनिधिले सुनकोशी गाउँपालिकामा पालिकाको स्थायी केन्द्र तोक्न सकेन, प्रशासनिक भवन बनाउन पनि सकेन । त्यसलाई पूरा गर्न आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो । सडकको स्तरोन्नति, गुणस्तरीय शिक्षा, स्वरोजगार सिर्जनालगायतका क्षेत्रमा काम गर्ने भन्दै उहाँ मतदातासँग पुगिरहेका छन् । उहाँले लालटिन चुनाव चिन्ह पाउनुभएको छ ।