• १६ भदौ २०८१, आइतबार

स्थानीय तह निर्वाचन

महिलाका मुद्दासहित विकासका काम पनि गर्न सक्छाैँ : महिला नेतृ

blog

बिन्दु थापा

तानसेन, वैशाख २५ गते । यतिबेला चुनावी गतिविधि देशभर भइरहेका छन् । पार्टी हाँक्ने सक्षम नेतृत्वको लागि भन्दै आ–आफ्नो धारणासहित सबैले आफूलाई अगाडि सारेका छन् । यही चुनावी माहौलले पाल्पा जिल्लाका महिला उम्मेदवारलाई पनि तताएको छ ।  


सुनीता अधिकारी   उम्मेदवार बग्नासकाली गाउँपालिका प्रमुख  नेका

“घर परिवार इष्टमित्र सबैलाई मिलाएर बाँकी रहेको समयमा मात्र राजनीति गर्ने हामी महिलाहरु हरेक आन्दोलन, गोष्ठी, पार्टीका काममा सहभागिता जनाएका छौँ तर सबै ठाउँमा महिलाहरुको योगदान र वलिदानलाई कदर गर्न सकेको छैन । कुरा तेत्तीस प्रतिशत भए पनि महिलालाई आरक्षण कोटामा मात्र सिमित मात्रै गरेको छ ।

लैङ्गिक विभेदले गर्दा अझै पनि निर्णायक तहमा महिलाहरुलाई आउन दिइएको छैन यसकारण मेरो प्रमुख पदका लागि उम्मेदवार छ ।

महिलाको नेतृत्वले महिलाको मात्रै मुद्दा उठाउँछ भन्ने गलत सोचाई चिरेर बग्गानसकालीलाई सुन्दर, शिक्षा, कृषिमा विकास गराउने उद्देश्य छ । आशा छ, मतदाताले सक्षम नेतृत्व रोज्न चुक्नु हुनेछैन । 


सरस्वती दर्लामी चिदी   उम्मेदवार बग्नासकाली गाउँपालिका प्रमुख – एमाले

परिवार, धर्म, कानुन, राजनैतिक संरचना, पितृसत्तात्मक व्यवस्थाको खम्बाहरु हट्दै गएको भनिए पनि अझै पनि महिला नेतालाई पछाडि पार्न खोजिएको कारण संविधानले दिएका अधिकारहरुलाई समेत उपभोग गर्ने वातावरण सिर्जना हुनसकेको छैन ।

महिलाहरु अझै पनि सहायक भएर काम गरिरहनुपर्छ भन्ने मान्यताबाट उम्कन नसकेका कारण महिला नेतालाई सँधै ओझेलमा पारियो, महिलाले प्रमुख पदमा रहेर काम गर्न सक्दैनन् भन्ने आम मानिसहरुको बुझाइलाई चिर्न र विगत पाँच वर्षको अनुभवलाई सही तरिकाले कार्यान्वयन गर्न मेरो उम्मेदवारी रहेको छ ।

महिलाहरुमा आफैँमा आत्मनिर्भरता भयो भने पुरुषसरह नै काम गर्न सक्नेछन् । यी यस्ता विविध असमानताका खाडल हटाउन मात्र नभएर विकास निर्माणका अन्य थुप्रै काम गरेर देखाउन म प्रमुख नेतृत्वमा उम्मेदवारी दिएको छु  । प्रचारमा पुरुष नेताहरुकै बढी नाम आइरहेको छ, चिदीले बताउनुभयो ।


लक्ष्मी खनालः उपप्रमुख उम्मेदवार रिब्दीकोट गाउँपालिका – एमाले

महिलालाई विभिन्न बाहनामा पछाडि पार्न खोजिएको छ । महिलाहरु सक्षम भए पनि सामाजिक संरचनाले महिलाहरुलाई नेतृत्वमा आउन पछि पारेकाले यसलाई महिलाहरुले नै चिर्दै अगाडि बढ्न मेरो उम्मेदवारी हो  ।

उहाँले गाउँपालिकाको प्रमुख हुने लायक भए पनि पार्टीका नीति नियम र विधानमा टेकेर अगाडि जानुपर्ने भएकाले महिलाहरुलाई गाह्रो भएको महसुस गरेको छु ।

सक्षम महिलाहरु कोटामा लडेर होइन, खुला रुपमा पार्टीको सहमतिमा अगाडी आउने र गाउँका महिला दिदीबहिनीहरुलाई कोटामा सुरक्षित गरी धेरै महिला सहभागिता गराउनुपर्ने थियो तर गठबन्धनका कारण धेरै महिलाहरु खुम्चिनुपर्यो ।

विगतका पाँच वर्षमा धेरै कामहरु गरेको छु, सबैमा सन्तुष्टि मिलेको छ । अब पनि महिलाको हक हित, विकास निर्माणका कामहरुमा मिहेनतका साथ काम गरेर महिलाको नेतृत्वलाई उत्कृष्ट बनाउनेछु ।

गीता घिमिरे ः उम्मेदवार रैनादेवी छहरा गाउँपालिका उपप्रमुख –एमाले

राजनीतिमा धेरै योगदान गरेका महिलाहरु पनि भएको तर यसलाई गठबन्धनका नाममा महिलाको बेवास्ता गरेको छ । हरेक लडाइँमा आन्दोलन र कार्यक्रममा महिलाहरुको उत्कृष्ट योगदान रहे पनि पितृसत्तात्मक सोचाइबाट माथि उठ्न सकेको छैन । लामो समयदेखि महिलाहरुको अधिकारको लागि आवाज उठाउँदै आएको छु ।

उपप्रमुख पद पनि अवसर हो मेरो लागि महिलाहरु पुरुषको तुलनामा धेरै पछाडि परेको हुँदा महिलाहरुलाई प्राथमिकता दिएर श्रोत तथा साधनहरु न्यायपूर्ण रुपले वितरण गर्ने अवसरहरु समान ढङ्गले दिने र अवसरलाई उपयोग गर्न सक्ने समान क्षमता, ज्ञान र विवेकको विकास गर्नको निम्ति मेरो उम्मेदवारी छ  ।


कान्ता अधिकारी ः उम्मेदवार रिब्दिकोट गाउपालिका उपप्रमुख काँग्रेस 

महिलाहरु कुनै पनि कामका लागि असक्षम छैनन् । महिलाहरुको हकहित, न्याय, समानताको लागि पहल गर्दै काम गरिरहे पनि सबै ठाउँमा तेत्तीस प्रतिशत महिलाको सहभागिता अझै कार्यान्वयन हुन नसक्नु महिलाहरुको नेतृत्वलाई सहजै रुपमा स्वीकार्न नसक्नु हो ।

हरेक महिला हरेक क्षत्रमा सक्षम हुँदाहुँदै पनि अधिकांश महिलाहरु ढुक्कसँग राजनीतिमा आउन  सक्ने वातावरण सिर्जना हुन सकेको छैन, यी यस्ता विधि परिवर्तन र रिब्दिकोटको समग्र विकासको लागि मेरो उम्मेदवारी छ ।