• १६ भदौ २०८१, आइतबार

शीर्षक के हो

blog

अफिसबाट थाकेर आएका भीमबहादुरले सुनितालाई भने, “पैसा जोगाउनै सकिएन । तलबले धान्न गाह्रो पो भयो त । भोलि एक दिन कत्ति पनि पैसा खर्च गर्दिन है । मसँग नमाग्नू ।”

श्रीमान्ले भनेको कुरा सुनेपछि सुनिता छक्क परिन् । आँपको मौसम छ । छोराछोरी आँप भनेपछि हुरुक्कै हुन्छन् । आँप किन्न त रकम चाहियो । भीमबहादुरको कुरा सुनेर सुनिता झर्किन्, “होइन, पैसा खर्च नगरेर कसरी घरव्यवहार चल्छ ? खाना खानु परेन ? बच्चाहरूलाई टिफिन बनाइदिनु परेन ? पैसा खर्च गर्दिन भनेर नचाहिने कुरा नगर्नु न ।”

भीमबहादुरले भोलि एक दिनका लागि पो खर्च गर्न नचाहेको बताए । “एक हजार रुपियाँ भजाउँदा एकै दिनमा सकिने भयो । पैसा जोगाउनै नसकिने भयो । भोलि एक रुपियाँ पनि खर्च नगरेर हेरौँ न । सकिन्छ कि सकिँदैन पो भनेको” भीमबहादुरले भने ।

सुनिताले भोलि छोराछोरीलाई स्कुलमा खाजाका लागि मकै भुटेर पठाइदिने बताइन् । “हुन्छ नि त, भोलि एक रुपियाँ पनि खर्च नगरेर घरमा जे छ त्यही खाएर हेरौँ न त” सुनिताले भनिन् । सबै जना सुते ।

बिहान भयो । सुनिता खाना पकाउन थालिन् । भीमबहादुर मकै भुट्न थाले । ओस नलागोस् भनेर भीमबहादुरले प्लास्टिकको थैलामा मकै हालेर कसिदिए । छोरा गौरव र छोरी गौरिका पनि विद्यालय जान तयार हुँदै थिए । गौरव कुद्दै भीमबहादुर भएको ठाउँमा आएर भने, “बाबा, मेरो जुत्ताको तलुवा उप्किएछ । टाँस्न मिल्दैन रे । नयाँ जुत्ता किनिदिनु पर्छ । त्यो भएन भने स्कुल जान पाउँदिन ।”

लौ बर्बाद, अब भीमबहादुरले पैसा खर्च नगरेर भयो त ? हिजो राति एक दिनका लागि कत्ति पनि पैसा खर्च गर्दिन भनेका भीमबहादुरलाई आपत् पो प¥यो । पैसा खर्च नगरौँ छोरा स्कुल जान पाउँदैन, पैसा खर्च गरौँ त हिजो राति भनेको कुरा पूरा गर्न नसकिने भयो । कस्तो समस्या ? छोरालाई स्कुल नपठाएर त भएन । भीमबहादुर एक हजार रुपियाँ बोकेर नजिकैको जुत्ता पसल पुगे । मोलमोलाइ गरेर छ सय रुपियाँमा जुत्ता किनेर ल्याइदिए । एकैछिनमा गौरिका पनि आइपुगिन् । “बाबा, मेरो कापी र सिसाकलम सकिएको रहेछ” गौरिकाले भनिन् । 

भीमबहादुर पसल पुगे । एक सय रुपियाँ खर्च गरेर दुई वटा कापी र दुई वटा सिसाकलम ल्याइदिए । गौरव फेरि भीमबहादुर भएको ठाउँमा आइपुगे । गौरवले भने, “बाबा, आज स्कुलमा मिसले चिडियाखाना घुमाउन लैजाने भन्नुभएको छ । त्यसैले दुई सय रुपियाँ सबैले ल्याउनू भन्नुभएको छ ।” भीमबहादुरले खुरुक्क दुई सय रुपियाँ दिए । 

अब भीमबहादुरसँग जम्मा एक सय रुपियाँ बच्यो । एक हजार रुपियाँ भजायो भने सकिन्छ भन्ने त भीमबहादुरलाई हिजै लागिसकेको थियो । खाना खाएर अफिस हिँड्न लागेका भीमबहादुरले सुनितालाई हातमा एक सय रुपियाँ थमाउँदै भने, “यो लेउ, छोराछोरीका लागि एक केजी आँप किनिदिनू । एक हजार रुपियाँ पनि सक्कियो । भोलि चाहिँ एक रुपियाँ पनि खर्च गर्दिन ल ?”  

मुना डेक्स