• २९ भदौ २०८१, शनिबार

राष्ट्रिय परिचयपत्र सबै क्षेत्रमा लागू गरौँः सांसद शेर्पा

blog

नेकपा (एमाले)का सांसद सोनाम गेल्जेन शेर्पा बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै।

काठमाडौँ, साउन ३१ गते । राष्ट्रिय सभामा नेकपा (एमाले)का सांसद सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय परिचयपत्रलाई सबै क्षेत्रमा लागू गर्नुपर्ने बताउनुभएको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद शेर्पाले देशमा राष्ट्रिय परिचयपत्र बारेमा धेरै प्रश्न उठ्ने गरेको बताउनुभयो । उहाँले सरकारबाट गल्ती कमजोरी भएको भए पनि त्यसमा सुधार गरेर अघि बढ्नुपर्ने जिकिर गर्नुभयो ।

उहाँले राष्ट्रिय परिचयपत्र लागू गर्दा निश्चित समय तोक्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक सुरक्षा भत्ताहरुमा हुने अनियमितता पनि राष्ट्रिय परिचयपत्र लागू भएपछि कम हुँदै गएको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय परिचयपत्र लागू गराउन सबैले पहलकदमी लिनुपर्ने बताउनुभयो ।

‘‘देशमा राष्ट्रिय परिचयपत्रबारे धेरै कुरा उठ्ने गरेको छ । सरकारबाट गल्ती कमजोरी भएको छ । नेशनल आइडीलाई कुनै पनि ठाउँमा लागू गर्दा एक वर्ष वा डेढ वर्ष समय हुनुपर्छ । तर आज यो देशमा नेशनल आइडी लागू भइसकेपछि देशले धेरै फाइदाहरु महसुस गर्नुपर्छ ।,’’ सांसद शेर्पाले भन्नुभयो, ‘‘हाम्रो देशमा जुन किसिमको वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ताहरु छन्, त्यो तीन, चार ठाउँमा नै लिने गरेको रहेछ । नेशनल आइडीमा जोड्न थाले पनि कुनै पनि व्यक्तिले लिँदा एक ठाउँभन्दा अर्को ठाउँमा लिन पाउँदैन । यो एकदमै राम्रो छ । यसको लागि हामी सबैले पहलकदमी लिनुपर्छ । नेशनल आइडी हरेक क्षेत्रमा लागू गर्नुपर्छ ।’’

सांसद शेर्पाले संविधान संशोधन एउटा प्रक्रियाबाट हुने बताउनुभयो । उहाँले सत्तामा बस्ने शासकहरुले विधिको शासन चलाउनुपर्ने बताउनुभयो ।