• ९ मंसिर २०८१, आइतबार

बाँसको फड्के बगाएपछि समस्या

blog

चापाकोट नगरपालिका–४ र हरिनास गाउँपालिका–५ छुट्याउने खानीखोला  ।

राधाकृष्ण डुम्रे

वालिङ, साउन ३१ गते । स्याङ्जाको चापाकोट र हरिनासको सिमानामा रहेको खानीखोलामा व्यवस्थित पुल नहुँदा स्थानीयवासी समस्यामा परेका छन् । चापाकोट नगरपालिका–४ र हरिनास गाउँपालिका–५ को धेरै भूभाग खानीखोलाले छुट्याएको छ । 

हिउँदको समयमा दुवै पालिकाका नागरिक खोलाको बाटो प्रयोग गर्ने गरेका छन् तर बर्खामा भने घण्टौँ लगागेर वारपार गर्नुपर्ने अवस्था रहेको स्थानीय विश्वास पुरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हिउँदमा बनाएको बाँसको फड्के खोलाले बगाइदियो, नजिकै पुल छैन, वारपार गर्न निकै समस्या छ ।”

बर्खाको समयमा खाद्यान्न किनमेल गर्न एक दिन खर्चनु परेको स्थानीय दिलमाया सुनारले बताउनुभयो । “थोरै किनमेलका लागि पनि धेरै समय खर्चनु परेको छ । यो पीडा कसले बुझिदिने ?” उहाँले भन्नुभयो । पुल नहुँदा बिरामीलाई अस्पतालसम्म पु¥याउन समस्या हुने गरेको दुवै पालिकाका नागरिकको गुनासो छ । 

चापाकोट नगरपालिकाका झन्डै १० वटा वडा तथा हरिनास गाउँपालिकाका सात वटा वडाका स्थानीय नियमित रूपमा यही बाटो हुँदै वारपार गर्ने गर्छन् । लामो समयदेखि पक्की पुलको माग गर्दै आएको भए पनि सुनुवाइ नभएको पुरीले बताउनुभयो । स्याङ्जाबाट तनहुँको भिमाद जोडने छोटो दुरीको सडक निर्माण भएको छ तर खानीखोलाको घैँटेमा पुल नहुँदा लामो दुरीको यात्रा गर्नुपर्ने बाध्यता छ । 

सडकको कारण स्थानीय बसाइँसराइ गर्न बाध्य भएको चापाकोट–४ का वडाध्यक्ष अर्जुन खाणले बताउनुभयो । पछिल्लो समय गण्डकी प्रदेश सरकारले पुल निर्माणका लागि पहल गरे पनि बजेट पर्याप्त नहुँदा पुल निर्माणको काम अगाडि बढ्न नसकेको उहाँको भनाइ छ । खानीखोलामा पुल निर्माणका क्रममा वारिपारिको सडक ढलान भइसकेको हरिनास गाउँपालिका–५ का वडाध्यक्ष निर्मल लम्सालले बताउनुभयो । पुल निर्माणका लागि डिपिआर तयार भइसकेको भए पनि काम अगाडि नबढेको उहाँको गुनासो छ ।