• ८ मंसिर २०८१, शनिबार

बङ्गलादेशमा १३ वर्षयताकै उच्च मूल्यवृद्धि

blog

ढाका, साउन २९ गते । बङ्गलादेशको मुद्रास्फीति दर जुलाईमा ११.६६ प्रतिशत पुगेको छ । यो बङ्गलादेशमा १३ वर्षयताकै सबैभन्दा बढी वृद्धि दर रहेको बङ्गलादेशको तथ्याङ्क विभाग (बीबीएस) ले सोमबार जनाएको छ ।

मुख्यतया खाद्यान्नको मूल्य वृद्धिका कारण मूल्य वृद्धिदर अस्वाभाविक रूपमा बढेको विभागको तथ्याङ्कले जनाएको छ ।  गत जुन महिनामा मूल्यवृद्धि दर ९.७२ प्रतिशत रहेको बीबीएसको तथ्याङ्कले देखाएको छ ।

बीबीएसका अनुसार खाद्य मूल्यवृद्धि जुलाईमा १४.१० प्रतिशतले बढेको छ, जुन एक दशकको अवधिमा सबैभन्दा बढी हो । यसैगरी जुन महिनामा पनि खाद्य मूल्यवृद्धि दर १०.४२ प्रतिशत थियो ।

गैर–खाद्य पदार्थको मूल्य वृद्धिदर पनि जुनमा ९.१५ प्रतिशतबाट बढेर जुलाईमा ९.६८  प्रतिशत पुगेको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०२३–२४ मा देशको औसत मूल्य वृद्धिदर बढेर ९.७३ प्रतिशत पुगेको छ जुन आर्थिक वर्षका लागि तय भएको बजेटको लक्ष्य भन्दा धेरै हो ।

तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०२२–२३ मा बङ्गलादेशको मूल्य वृद्धिदर ९.०२ प्रतिशत रहेको थियो । रासस/सिन्ह्वा