पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, असार २८ गते । पश्चिम नवलपरासीको सुनवलमा शहीद विष्णु पाण्डे प्रतिष्ठान संग्रहालय निर्माण तीव्र गतिमा अगाडि बढेको छ । यो संग्रहालयले जनआन्दोलन २०६२/०६३ का शहीदहरूको बलिदानलाई जीवन्त राख्ने र नयाँ पुस्तालाई लोकतान्त्रिक आन्दोलनको महत्त्व बुझाउने लक्ष्य राखेको छ ।
सुनवल नगरपालिकाद्वारा पटक–पटक गरी विनियोजित ८५ लाख लाख रुपियाँको लागतमा संग्रहालय भवन निर्माण कार्य तीव्र रूपमा अघि बढेको छ । नगर प्रमुख बिमला अर्यालका अनुसार यो स्थललाई देशभरका राष्ट्रिय शहीदहरूको सालिक निर्माण गरी यस पार्कलाई ‘शहीदको एकमात्र थलो’ का रूपमा चिनाउने लक्ष्य राखिएको छ ।
सुनवल नगरपालिका–५ को वनकट्टीस्थित शहीद विष्णुप्रसाद पाण्डे पार्कभित्र निर्माणाधीन यो संग्रहालयले नेपालको लोकतान्त्रिक इतिहासलाई समेट्ने छ । जनआन्दोलन २०६२/०६३ का क्रममा नवलपरासीको सदरमुकाम परासीमा शहादत प्राप्त गर्नुभएका तत्कालीन लुम्बिनी अञ्चलकै प्रथम शहीद विष्णुप्रसाद पाण्डेको स्मृतिमा वि.सं. २०६३ मा स्थापित शहीद पाण्डे स्मृति प्रतिष्ठानले यसको निर्माण र व्यवस्थापनको जिम्मा लिएको छ ।
यो संग्रहालय पश्चिम नवलपरासीको मात्र नभई राष्ट्रकै लागि एउटा महत्त्वपूर्ण सम्पदा बन्नेछ, जसले शहीदहरूको योगदानलाई जीवन्त राख्नुका साथै आगामी पुस्तालाई लोकतान्त्रिक आन्दोलनको महत्त्व बुझाउन मद्दत गर्नेछ ।
संग्राहलमा भौतिक निमार्णको काम करिव सकिए पनि अझै सामग्री व्यवस्थानको का बाँकी रहेको शहीद बिष्णु पाण्डे प्रतिष्ठानका अध्यक्ष दुर्गा सुवेदीले जानकारी दिनुभयो । प्रतिष्ठानको मुख्य उद्देश्य प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि भएका आन्दोलनहरूमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूको जीवनी, उनीहरूले गरेका योगदान र बलिदानीको अभिलेखीकरण गर्नु हो ।
शहीद विष्णुप्रसाद पाण्डे सुनवल–५, वनकट्टीका एक २९ वर्षीय स्वास्थ्यकर्मी हुनुहुन्थ्यो । जनआन्दोलनका घाइतेहरूको उद्धार र उपचार गर्ने क्रममा प्रहरीको गोली लागी उहाँले आफ्नो जीवन उत्सर्ग गर्नुभएको थियो । उहाँको बलिदानलाई राष्ट्रले शहीद घोषणा गरी सम्मान गरेको छ ।
शहीद विष्णुप्रसाद पाण्डे पार्कलाई एउटा नमुना पर्यटकीय स्थल र देशभरका शहीदहरूको साझा थलोका रूपमा विकास गर्ने दीर्घकालीन योजनासहित काम भइरहेको छ । यहाँ शहीद पाण्डेको सालिक, वनभोज स्थल, पोखरी, बगैँचा, सभाहल, बाल उद्यान र खेल मैदान जस्ता संरचनाहरू निर्माण भइसकेका छन् । भविष्यमा चिडियाखाना, पौडी पोखरी र दृश्यावलोकन स्तम्भ बनाउने लक्ष्य राखिएको छ । यो परियोजनाले सुनवल नगरपालिकालाई शैक्षिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न पनि सहयोग पुग्ने विश्वास गरिएको छ ।