ललितपुर, साउन २८ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्ने लक्ष्य निर्धारण गरेर आधारभूत सङ्गठन निर्माण अभियान सुरु गर्दैछ । भदौ पहिलो साता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्नेगरी तयार गरिएको सङ्गठन निर्माण अभियान मङ्सिरको मसान्तसम्म जारी रहनेछ ।
केन्द्रीय र प्रदेश सत्ताबाट बाहिर बसेको जसपा नेपालको सिङ्गो पार्टी पङ्क्ति आगामी चार महिनासम्म विशुद्ध सङ्गठन निर्माणमा होमिने र त्यसका लागि जसपा नेपालले आफ्ना केन्द्रीय नेतृत्वलाई एक दिवसीय प्रशिक्षण समेत दिएको छ ।
ललितपुरको महालक्ष्मी स्थान ६, सानोगाउँको थसी ब्याङक्वेटमा आइतबारदेखि जारी केन्द्रीय समिति बैठक जारी रहेको छ । बैठकको दोस्रो दिन सोमबार दुई सय १५ जना केन्द्रीय सदस्यहरूलाई सङ्गठन निर्माण अभियानबारे प्रशिक्षण दिइएको छ ।
केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी चार महिनासम्म सङ्गठन निर्माण, बिस्तार, शुद्धीकरण र सुद्दढिकरण अभियानमा होमिन सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिनुभएको छ ।
‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण’ नाम दिइएको सो अभियानलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सक्रिय भएर लाग्न अध्यक्ष यादवले केन्द्रीय सदस्यहरूलाई आह्वान गर्नुभएको छ ।
सङ्गठनलाई चुस्त दुरुस्त र बलियो बनाउनु त छँदैछ, पार्टी फुटाएर गएका लोभी, स्वार्थी र अवसरवादीहरूले आम समुदायमा छरेको भ्रमलाई चिर्ने र उत्पीडित समुदायको नेतृत्व गरेको एकमात्र पार्टीलाई क्षति पुर्याउनेहरूको भण्डाफोर गर्ने उद्देश्यले यो अभियान सुरु गर्न लागेको अध्यक्ष यादवले बताउनुभयो।
यो अभियान टोल, बुथ, गाउँ, नगर, पालिका, प्रदेश, सङ्घीय निर्वाचन वा क्षेत्रमा केन्द्रित हुनेछ । पार्टी सङ्गठन टोल, बुथ, वडा, गाउँ, नगर, प्रदेश, सङ्घीय निर्वाचन क्षेत्रमा समिति गठन र पुनर्गठन, सङ्गठन विस्तार, प्रशिक्षण, अन्तरक्रिया, गोष्ठी, जनसभा, लगायत अन्य कार्यक्रमहरू गर्ने र सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गरिने बताइएको छ ।
यस्तै देशव्यापी रूपमा जनपरिचालन अभियान, जसमा सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रमहरू तय भएको पनि जसपा नेपालले जनाएको छ ।