गजेन्द्र गुरुङ
खजुरा, साउन २६ गते । नेपालगन्जस्थित भेरी अस्पतालले सेवाग्राहीहरूका लागि पहिलो पटक अनलाइनबाटै टिकट काट्न पाउने व्यवस्था गरेको छ । अस्पतालले शुक्रबारबाट सेवाग्राहीहरूले घरबाटै अनलाइन माध्यमबाट आफ्नो टिकट काट्ने ‘अनलाइन टिकेट सेवा’को सुरुआत गरेको हो ।
भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले अस्पतालमा सयौँको सङ्ख्यामा बिरामी सेवाग्राहीको घण्टौँसम्म लाइन लाग्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्नका लागि अस्पतालले अनलाइन टिकेट सेवाको सुरुआत गरेको बताउनुभयो ।
“अस्पतालको ओपिडीमा दैनिक एक हजारभन्दा बढी नागरिकहरू सेवा लिन आउने गर्नुहुन्छ, उहाँहरू टिकट लिनका लागि ठेलमठेल गर्नुपर्ने बाध्यता रहेको छ ।” मेसु थापाले भन्नुभयो, “घण्टौँ सम्मको लाइन लाग्ने बाध्यतालाई न्यूनीकरण गरेर सेवाग्राहीलाई सुविधा प्रदान गर्नका लागि अनलाइन टिकेट सेवा सुरुआत गरेका छौँ, अहिले सुरुमा परीक्षणका लागि १०० टिकट काट्न मिल्ने गरी व्यवस्था गरेका छौँ, भविष्यमा यसको प्रभावकारिता हेरेर सोही अनुसार सङ्ख्यामा वृद्धि गर्नेछौँ ।”
मेसु थापाका अनुसार सेवाग्राहीले चेकजाँच गराउन चाहेको रोगको उपचारका लागि सम्बन्धित रोगसहितका विभाग र कोठा नम्बरसमेत वेबसाइटमा राखिएको छ । वेबसाइटमा गइसकेपछि सेवाग्राहीले आवश्यक जानकारीसहितको फाराम भर्नुपर्नेछ । सेवाग्राहीले फाराम भरिसकेपछि सेवा शुल्क बापत ३० रुपियाँ अनलाइनबाटै बुझाउनुपर्ने र आफूले चालेको मिति र समयमा टिकट बुक गर्न पाउनेछन् । सेवा शुल्क बुझाइसकेपछि एउटा टोकन नम्बर अनलाइनबाटै पाइने र सो टोकनलाई अस्पतालमा लगेर देखाएपछि तत्काल सेवा पाउने व्यवस्था गरिएको मेसु थापाले बताउनुभयो ।
“हाललाई नयाँ सेवाग्राहीका लागि मात्र परीक्षण अनलाइन टिकट सेवाको सुरुआत गरेका छौँ, बिमा सेवा लिनेहरूका लागि भने तत्काल व्यवस्था गरिएको छैन ।” मेसु थापाले भन्नुभयो, “बिमा सेवाग्राहीका लागि बिस्तारै सेवा थप गर्दै जानेछौँ, परीक्षणकाल भएका कारण जुन जुन समस्या देखिन्छन् सबैलाई सम्बोधन गर्दै परिमार्जन गर्नेछौँ ।”
अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तर र समयसापेक्ष प्रविधिको प्रयोग गरी नागरिकको सहज र सरल पहुँचमा ल्याउनका लागि थप सुविधाहरू विस्तार गर्दै लैजाने मेसु थापाले बताउनुभयो । हाल अस्पतालले ओपिडी टिकट काट्नका लागि आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि १२ः३० बजेसम्म र शुक्रबार बिहान ९ बजेदेखि ११ः३० बजेसम्मको समय छुट्याएको छ । अनलाइन टिकेट सेवा भने चौबिसै घण्टा खुल्ला रहनेछ ।
अनलाइनट टिकट काट्नका लागि अस्पतालको वेबसाइट www.bheri.hospital.gov.np मा गएर https://bheri.opdticket.com/ मा गई त्यहाँ रहेको फाराममा आफ्नो विवरण भरी यो सेवा लिन सक्ने अस्पतालले जनाएको छ ।
भेरी अस्पतालमा अनलाइन टिकट सेवाको सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुक्रबार अस्पतालमा पुगी अनलाइनबाट आफ्नो टिकट काटेर सेवाको शुभारम्भ गर्नुभएको थियो । अस्पतालले अनलाइन टिकट काट्ने व्यवस्था गरेपछि सेवाग्राहीहरू घण्टौँसम्म लाइन लागेर पालो कुरी टिकट काट्नुपर्ने बाध्यता हट्ने आशा गरिएको छ ।