• १२ असोज २०८१, शनिबार

सांस्कृतिक संस्थानमा दीक्षान्त

blog

काठमाडौँ, साउन २६ गते । रामभजन कामतको लेखन र सबनम सिलवालको निर्देशन रहेको ‘शुभाशिष्’ नाटक मञ्चनसँगै सांस्कृतिक संस्थानबाट दीक्षित ३२ औँ ब्याचको बिदाइ भएको छ । सांस्कृतिक संस्थानबाट गीत/सङ्गीत, नृत्य, तबला वादन, नाटकमा प्रशिक्षण लिएकाको बिदाइ र नयाँ विद्यार्थीको स्वागत शुक्रबार गरिएको छ । शुभाशिष् नाटकमार्फत वैदेशिक रोजगारी र पढ्ने बहानामा विदेशिने नेपाली युवा स्वदेश नफर्कंदा गाउँ, समाजमा वृद्ध नागरिक मात्र बस्नु परेको वर्तमान परिवेशलाई प्रस्तुत गरिएको थियो । नाटकको सुरुवातमा आफ्ना सन्तान युरोप वा अन्य मुलुकमा पठाउन सकेकोमा गौरवसाथ छलफल गर्ने ज्येष्ठ नागरिक नै जीवनको अन्तिम घडीमा सन्तान मोहले धेरै पिरोलिएको दृश्य निक्कै कारुणिक ढङ्गले मञ्चन गरिएको थियो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेशसरस श्रेष्ठले विगतमा समुदाय/समुदायमै अभ्यास र पुस्तान्तरण हुँदै आएको गीत/सङ्गीत, नृत्यलगायत अमूर्त सम्पदाको सरकारले सांस्कृतिक संस्थानलगायत संस्थामार्फत विकास र नयाँ पुस्तालाई सिकाउने वातावरण दिएको बताउनुभयो । सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले संस्थानले नियमित रूपमै गीत, शास्त्रीय सङ्गीत, तबला, बाँसुरी वादन, चर्या र सोरठी नृत्यलगायत विविध अमूर्त सम्पदासम्बन्धी प्रशिक्षण सञ्चालन गर्दै आएको बताउनुभयो । कार्यक्रममा शास्त्रीय सङ्गीत, चर्या नृत्य, सोरठी, पञ्चबुद्ध नृत्य, तबला र बाँसुरी वादन प्रस्तुत गरिएको थियो ।