• १२ असोज २०८१, शनिबार

प्रकृतिको माया (कविता)

blog

जरायो–गैँडा, खरायो, मृग, कस्तूरी खेलेको

मुनाल–डाँफे, लुइँचे–तित्रा, कोइली बोलेको ।

गुराँस–बेली, चमेली फूल जहाँ छ फुलेको

देखिन्छ त्यहाँ प्रकृति–छटा छर्लङ्ग खुलेको ।।


हिमाल शिर, पहाड मुटु, पैताला तराई

मेची र काली पाखुरा हाम्रा प्यारो छ मलाई ।

पशु र पन्छी रमाई बस्छन् हरियो पाखामा

वसन्त–गीत गाएका हुन्छन् लोकको भाकामा ।।


‘हरियो वन नेपाली धन’ मनमा सँगाली

जन्मिएदेखि हुर्कन्छ मान्छे वनेली अँगाली ।

हरियो सारा हरायो भनी रुँदैछन् न्याउली

मनमा पीर खपेर पनि फुल्दैछन् प्याउली ।।


बनेलीलाई म रुन दिन्न न्याउली चरीझैँ

पर्वत–पाखा, तराई पार्छु स्वर्गकी परीझैँ ।

प्रकृतिलाई सुन्दर पार्न म सधैँ गम्दछु

वनकी देवी रमाइन् भने म पनि रम्दछु ।।