• ८ मंसिर २०८१, शनिबार

झुला खेल्दै ‘गुडिया’ को रमझम

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, साउन २६ गते । बाँके, बर्दियालगायत तराई जिल्लामा बसोबास गर्ने अवधी समुदायले नागपञ्चमीलाई ‘गुडिया’ पर्वका रूपमा धुमधामसाथ मनाएका छन् । 

राकेशकुमार मिश्राका अनुसार यो पर्वलाई अवधी समुदायको मुख्य पर्वका रूपमा लिइन्छ । ‘गुडिया’ पर्वको दिन सो समुदायले घरपरिवार, आफन्त, टोलछिमेक सबै मिलेर विशेष धुमधामसाथ मनाउने गरेका छन् । 

मिश्राका अनुसार गाउँटोलका विशेष गरी अगुवा बिहानै नुहाएर घरको वरिपरि गाईको गोबरले चिनो तानेर मोटो लाइन बनाउने गर्छन् । यसलाई गोबर चक्र भनिन्छ । सो चक्रले घरमा सर्पलाई आउनबाट रोक्ने धार्मिक विश्वास रहिआएको छ । यसपछि दुध र चनाको घुघरी (भिजाएको काँचो चनाबाट बनाइएको परिकार) नाग देउता र गाउँनजिकै रहेको थान देउतामा चढाइने गरिन्छ । योसँगै घरको ढोकामा नाग टाँसेर पूजा पनि गरिन्छ । 

विष्णु कुम्हारका अनुसार गुडिया पर्वका दिन सबैको घरमा खाने परिकार अन्तर्गत चनाको घुघरी बनाइने गरिन्छ । यसका साथै पुरी, तरकारी, खिर, अचार, गुल्गुला यो पर्वको मुख्य परिकार हो । यो पर्वमा विवाहित छोरीलाई घुघरी पठाउने चलन छ । घुघरीमा चना, चामल, भेली मिठाई र आवश्यक कपडा लत्तासहितको गठरी सामथ्र्य अनुसार भाइ वा बावुले गठरी बाँधेर छोरीको घरमा लग्ने परम्परा रहेको वरिष्ठ अवधी साहित्यकार सच्चिदानन्द चौबेले जानकारी दिनुभयो । 

यस पर्वमा छोरी बोलाउने तथा लिन जाने गरिन्छ । गाउँघर, टोल समुदायमा पिङ (झुला) हाल्ने गरिन्छ । युवकयुवती गीत/सङ्गीत गाएर पिङ खेल्ने चलन छ । साँझ सबै युवतीले कपडाको गुडिया बनाएर भुईंमा हाल्ने र युवाले लट्ठीले गुडिया पिट्ने गरेको पण्डित शिवप्रसाद पाठकले बताउनुभयो । उहाँका अनुसार यस दिन सबैको घरमा मिठो मिठो खानेकुरा पकाइने गरिन्छ । यस दिन घरमा पाहुनालाई बोलाई सेवा सत्कार गरिन्छ । यो पर्व समुदायमा आदि कालबाट चलिआएको बताइन्छ । 

स्थानीय चन्द्रेश्वर त्रिपाठीका अनुसार परापूर्वकालबाट गुडिया र होली पर्व एकै दिन (बार) मा पर्ने गरेकाले ‘नाग फाग एकै दिन’ भन्ने गरिन्छ । सबै चाडपर्व समुदायमा मेल सद्भाव, शान्ति, भाइचारा कायम गर्ने उद्देश्यले मनाउने गरिएको पाइन्छ ।