• १६ भदौ २०८१, आइतबार

अनुशासन (निबन्ध)

blog

शिवाङ्शी खड्का

कक्षाः ४, बागमती बोर्डिङ सेकेन्डरी स्कुल

सुकेधारा, काठमाडौँ 

अनुशासन ‘शासन’ शब्दको अगाडि ‘अनु’ उपसर्ग लागेर बनेको हो । अनुशासन भनेको आफूले आफैँलाई नियममा बाँध्नु हो । हामी विद्यार्थीका लागि अनुशासन गहना हो । अनुशासन पालना गर्ने विद्यार्थी असल हुन्छ । हामीले विद्यालयमा होस् वा घरमा अनुशासन पालना गर्नु पर्छ । जसले हामीलाई सफल बनाउन सहयोग गर्छ । 

अनुशासनले मानिसको जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । विद्यार्थी र खेलाडीका लागि त सिकाइका क्रममा अनुशासन झन् नभई हुन्न । विद्यार्थीले विद्यालयमा शिक्षकले भनेको मान्नु पर्छ । कक्षामा पढाइ भइरहेको बेला ध्यान दिएर सुन्नु पर्छ भने नबुझेको कुरा सोध्नु पर्छ । कक्षामा पढाइरहेका बेला हल्ला गर्ने, साथीभाइसँग चल्ने, जिस्काउने गर्नु हुँदैन । 

विद्यालय जाँदा हामीले सधैँभरि सफा सुग्घर भएर जानु पर्छ । सफा पोसाक लगाउने, कपाल बाट्नेदेखि नङ काटेर समयमै पुग्ने बानी गर्नु पर्छ । नियमित रूपमा गृहकार्य गर्ने, अतिरिक्त क्रियाकलापमा पनि भाग लिने गर्नाले हामीलाई सिक्न धेरै मद्दत पुग्दछ ।

हामीले घरमा पनि अनुशासन पालना गर्नु पर्छ । आफूभन्दा ठुलालाई आदर सम्मान र सानालाई माया गर्नु पर्छ । हजुरबुवा, हजुरआमाबाट धेरै कुरा सिक्न सकिने भएकाले उहाँहरूलाई आदरसँगै माया गर्नु पर्छ । अनुशासनले सबैलाई असल बनाउने भएकाले यसको पालना गर्नु हाम्रो कर्तव्य हो । अनुशासन विद्यार्थीको सबैभन्दा ठुलो गुण हो । अनुशासन पालना गर्ने व्यक्तिले नै भविष्यमा सफलता पाउँछन् । अनि अनुशासन पालना गर्ने मानिसलाई सबैले मन पराउँछन् । अनुशासनले हामीलाई माया, प्रेम, सेवा भाव जस्ता गुण विकसित गराउँछ भने लोभ, रिस जस्ता नराम्रा बानीबाट टाढा राख्दछ ।

यसैले साथीहरू हामी भविष्यमा राम्रो हुन अहिलेदेखि नै अनुशासित र पढ्ने बानीको विकास गर्नु पर्छ । विद्यार्थीदेखि नै अनुशासित भएर अघि बढेमा जीवनमा सधैँभरि मान, सम्मान, इज्जत प्राप्त गर्न सकिन्छ ।

हामीले देख्ने गरेका शिक्षक, डाक्टर, इन्जिनियर, किसान, बैङ्कका हाकिम सबै जना अनुशासनमा बसेर, पढेर नै सफल भएका हुन् । त्यसैले तपाईं हामी पनि अहिलेदेखि नै अनुशासित हुने, नराम्रो बानी छ भने हटाउँदै जानु पर्छ । त्यसपछि सबैको प्यारो मान्छे बन्न सकिन्छ भने पढाइमा पनि राम्रो गर्न सकिन्छ । अनुशासन आफूले पनि पालना गरौँ अरूलाई पनि पालना गर्न सघाऔँ ।  

साउन मुना २०८१