• २३ पुस २०८१, मङ्गलबार

बडिगाड पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो, एक बेपत्ता

blog

आरुपाटा पहिरोमा बेपत्ताको खोजी गरिँदै । तस्बिर : गोरखापत्र

साधन घर्ती 

म्याग्दी (दरबाङ),साउन २४ गते । बागलुङको बडिगाड गाउँपालिका पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ । 

गाउँपालिका १० स्थित आरुपाटा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या नौ र सोही गाउँपालिकाको वडा नम्बर ९ मा बाढी पहिरोमा परेर ज्यान गुमाउने दुई गरी ११ जनाको ज्यान गएको हो ।

प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार बिहीबार बिहान बेपत्ता सात वर्षीया मधु बुढा र साँझ १० वर्षीय मनोज बुढाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

मङ्गलबार बिहान करिब साढे सात बजेको समयमा बस्ती माथिबाट आएको बाढी सहितको पहिरोले स्थानीय जोगबहादुर बुढाका छोरा बालिश्वरको दुई घर पुरिँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

एक जनाको उपचारको क्रममा साँझ निधन भएको थियो । बेपत्ता चारमध्ये एकको बुधबार र दुई जनाको बिहीबार शव फेला परेको हो । ज्यान गुमाउने सबै आरुपाटा निवासी हुनुहुन्छ । मनोज र मधु सहित तीन वर्षीय आरुष, ७० वर्षीया मोतीदेवी कामी, ६ महिनाकी शिशु सिता विक, सात वर्षीया मालती बुढा, एघार वर्षीया सिता पुन, आठ वर्षीय अमल बुढा र ७८ वर्षीया जोगबहादुर बुढाको पहिरोमा परेर ज्यान गुमाउनुभएको छ । 

पहिरोमा बेपत्ता सोही गाउँका ११ वर्षीय यमलाल बिक (सुमन) को खोजी भइरहेको प्रहरी उपरीक्षक कँडेलले बताउनुभयो । घाइतेहरू मध्ये ३१ वर्षीया सिता थापा, १९ वर्षीया रिमा पुन र ४६ वर्षीया सङ्गीता बुढाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौँ पुर्‍याएको छ । 

उनीहरूको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । बुधबार दिउँसो घाइते बिरामीलाई भेट गर्नुभएका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अस्पताल प्रशासनलाई घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन समेत दिनुभएको थियो । नौ जना घाइतेहरूको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र एक जनाको कास्की स्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी मङ्गलबार सोही गाउँपालिकाको वडा नम्बर ९ मा बाढी पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दर्लिङ स्थित बलघाँस स्थित १४ वर्षीय विधान परियार र सोही वडाको काभ्राखर्कका २४ वर्षीय गङ्गाबहादुर बस्नेत रहनुभयो । 

जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार, वडा नम्बर ९ र १० का मृतकको स्थलगत पोष्टमार्टम गरी आफन्तलाई बुझाएर बुधबार सामूहिक दाहसंस्कार गरिएको छ ।

बिहीबार भेटिएका मधु र मनोजको शव पनि स्थलगत पोष्टमार्टम गरी आफन्तलाई बुझाएर दाहसंस्कार गरिनेछ । धौलागिरि अस्पतालबाट मेडिकल अफिसर डा.क्षितिज रिजाल नेतृत्व टोलीले पोष्टमार्टम गरेको हो ।

गाउँपालिका उपाध्यक्ष भीमसेन वनका अनुसार सोही ठाउँको दर्लिङ खोलाको झोलुङ्गे पुल तरेर आफन्त सँगै भाग्ने क्रममा यमलाललाई बाढी सहितको खोलाले बगाएको थियो । बेपत्ता यमलालको खोजी गर्ने क्रममा झोलुङ्गे पुल भन्दा करिब एक किलोमिटर तल खोला खोला किनारमा उहाँले शरीरमा लगाउनुभएको पाइन्ट भेटिएको उपाध्यक्ष वनले बताउनुभयो । 

‘‘आफन्त सँगै ज्यान जोगाउन झोलुङ्गे पुल तर्ने क्रममा खोलामा आएको बाढीले यमलालाई बगाएको भन्ने प्रत्यक्षदर्शी आफन्तले बताउनुभएको छ । बिहीबार खोजी गर्ने क्रममा उहाँले शरीरमा लगाउनुभएको पाइन्ट खोला किनारमा भेटिएको छ ,’’ उहाँले भन्नुभयो । 

आरुपाटामा बाढीसहित आएको पहिरोले बालिश्वरका पक्की र गोठ घर सहित स्थानीयको चार घर पूर्ण रूपमा क्षति पुर्‍याएको छ । १२ घर उच्च जोखिममा परेका छन् । भने ३८ घर पनि जोखिममा रहेका गाउँपालिका उपाध्यक्ष भीमसेनले बताउनुभयो ।