• १६ भदौ २०८१, आइतबार

हालसम्म ९८ जनाले गुमाए ज्यान

blog

काठमाडौँ, साउन २४ गते । सौर्य एयरको जहाज दुर्घटनाको आलो घाउ सुक्न नपाउँदै नुवाकोटको शिवपुरीडाँडामा बुधबार भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा पाइलटसहित पाँच जनाको ज्यान गएको छ । 

साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १८ जनाको ज्यान जाने गरी भएको हवाई दुर्घटनाको १४ दिनमै भएको दोस्रो दुर्घटनाले हवाई यात्रा जोखिममा परेको पुष्टि मात्रै भएको छैन, यसले सरकार र नियामक निकायमाथि नेपाली हवाई आकाश सुरक्षित बनाउन कडा कदम चाल्नुपर्ने दबाबसमेत थपेको छ ।

नागरिक उड्डयन प्राधिकरणको उडान सुरक्षा प्रतिवेदन–२०२३ अनुसार बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा भएको दुर्घटनासहित नेपालमा हेलिकोप्टर दुर्घटनाको सङ्ख्या ४१ पुगेको छ । विभिन्न कम्पनीका हेलिकोप्टर दुर्घटनामा हालसम्म ९७ जनाको ज्यान गइसकेको छ । ४१ वटा दुर्घटनामध्ये २१ वटा घटनामा मानवीय क्षति बेहोर्नुपरेको छ । २० वटा दुर्घटनामा मानवीय क्षति नभए पनि क्षति भएका दुर्घटनामा कम्तीमा एकदेखि बढीमा २४ जनासम्मको ज्यान गएको छ ।

नेपालमा पहिलोपटक ४५ वर्षअघि विक्रम संवत् २०३६ पुस १२ गते हेलिकोप्टर दुर्घटनामा परेको थियो । रसुवाको लाङटाङमा विशिष्ट व्यक्ति सवार दुर्घटनामा छ जनाको ज्यान गएको थियो । पहिलो हेलिकोप्टर दुर्घटना भएको २७ वर्षपछि २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको दुर्घटना हेलिकोप्टरतर्फको अहिलेसम्मकै सबैभन्दा ठुलो मानिन्छ । श्री एयरलाइन्सको नाइन एन–एएचजे कलसाइन भएको हेलिकोप्टर दुर्घटनामा २४ जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै विसं २०५९ असोज १४ गते सोलुखुम्बुमा भएको एसियन एयरलाइन्सको नाइन एन–एसियु कलसाइनयुक्त हेलिकोप्टर दुर्घटनामा ११ जनाको ज्यान गएको थियो । प्राधिकरणको तथ्याङ्क अनुसार उक्त दुर्घटना हेलिकोप्टरतर्फको दोस्रो ठुलो हो । विसं २०७५ फागुन १५ मा ताप्लेजुङको पाथिभरामा एयर डाइनेस्टीकै नाइन–एन–एएमआई कलसाइन हेलिकोप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान गएको थियो । यसअघि विसं २०८० असार २६ गते सोलुखुम्बुको छोलिङल लामजुरामा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा छ जनाको ज्यान गएको थियो ।

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।