• ७ मंसिर २०८१, शुक्रबार

नेपाली पत्रकारिताको मियो

blog

नेपाली पत्रकारिता क्षेत्रमा एउटा अध्याय रचिएको दिन हो– वैशाख २४ गते । विक्रम संवत् १९५८ वैशाख २४ गते ‘गोर्खापत्र’ प्रकाशित भएको थियो । गोरखापत्र त्यसयता निरन्तर प्रकाशित भइरहेको छ । भोलि गोरखापत्रले आफ्नो १२२औँ वार्षिकोत्सव मनाउँदै छ । गोरखापत्र प्रकाशन भएकै दिनलाई आधार मानेर भोलि सातौँ राष्ट्रिय पत्रकारिता दिवस मनाउन लागिएको हो । नेपाली पत्रकारिता जगत्को धरोहरका रूपमा रहेको गोरखापत्रले यस अवधिमा अनेकौँ आरोह–अवरोह पार गरेको छ । देशमा भएका सबैखाले परिवर्तनको जिउँँदोजाग्दो साक्षीका रूपमा गोरखापत्र सतीसाल जस्तो उभिएको छ । 

राजनीतिक, सामाजिक, आर्थिकलगायत सबैखाले परिवर्तनसँग साक्षात्कार गरेको गोरखापत्रले सदैव आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको छ । त्यसैले राणा प्रधानमन्त्री देवशमशेरको पहलमा प्रकाशित गोरखापत्र आजपर्यन्त पाठकमाझ भरोसाको अखबार बनेको छ । गोरखापत्र नेपाली समाजको ऐनाका रूपमा स्थापित छ । आज पनि पत्रिका भनेकै ‘गोरखापत्र’ हो भन्ने आम विश्वास छ । 

गोरखापत्रसँग नेपाली पत्रकारिताको सिङ्गो विरासत छ । यो देशको गौरव पनि हो । राज्यको संरक्षणमा रहेको गोरखापत्र नियमित प्रकाशन हुनु मात्र ठूलो उपलब्धि होइन । यसलाई ‘अडियन्स’ले कसरी लिएको छ भन्ने महŒवपूर्ण विषय हो । पाठकले गोरखापत्रलाई सबैभन्दा आधिकारिक अखबारका रूपमा लिएको पाइन्छ । समाज परिवर्तनको हरेक कालखण्डको जिउँदो इतिहासका रूपमा रहेको गोरखापत्र अझै पनि सबैभन्दा पत्यारिलो  र विश्वसनीय पत्रिका हो । यसले हासिल गरेको मुख्य पहिचान पनि यही नै हो । कुनै समाचार अन्य पत्रिकामा छापिए पनि गोरखापत्रमा नआएसम्म पाठकले पत्याउने अवस्था रहँदैन । यो साख र विश्वास त्यसै हासिल भएको होइन, यसका पछाडि धेरै कारण छन् । त्यसमध्ये एउटाचाहिँ सत्य, तथ्य र विश्वसनीयता नै मुख्य कारण हो । 

गोरखापत्रले लेख्ने विषय उडन्ते हुँदैन । त्यसको एउटा मात्र उदाहरण काफी छ– ‘अनुजा बानियाँ काण्ड’ । केही वर्षअघि धरानमा एउटा बसमा झन्डै एक करोड नगद र जुहारतसहितको ब्याग भेटेको समाचार मूलधारका प्रायः सबै सञ्चारमाध्यमले प्रकाशन÷प्रसारण गरे । यो समाचार कान्तिपुरले ब्रेक गरेको थियो । समाचार लेख्ने पत्रकार थिए– हर्ष सुब्बा । सुब्बा पाका मात्र होइन, सज्जन पत्रकार पनि हुन् तर उनी यो समाचार लेख्दा चुके ।

अनुजा बानियाँले पत्रकार सुब्बालाई नराम्ररी झुक्याइन् । बानियाँले भनेकै कुरालाई पत्याएर सुब्बाले समाचार लेखे । यो समाचार भाइरल बन्यो । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले आफैँ फोन गरेर अनुजालाई स्याबासी दिनुभयो । यो समाचार गोरखापत्रले भने लेखेन, किनभने यो कतैबाट पनि पुुष्टि भएको थिएन । अनुजाले भेटेको रकम र जुहारत कसैले पाएको पुष्टि गरेन, त्यसैले गोरखापत्रले यो समाचार प्रकाशित गर्न उचित ठानेन । केही समयपछि अनुजाले भनेका सबै कुरा झुटा साबित भए । अरू सबै सञ्चारमाध्यमले दिएको समाचार गोरखापत्रले दिएन, पछि गोरखापत्र नै सही ठहरियो । 

माथि उल्लिखित प्रसङ्ग एउटा प्रतिनिधि घटना मात्र हो । गोरखापत्रले कहिल्यै गलत समाचार दिँदैन । यो नै गोरखापत्रको सबैभन्दा ठूलो पुँजी हो । गोरखापत्र भनेको सिङ्गो देशको ऐना हो । यसको चित्र र चरित्रले नै धेरै पक्षको उजागर गर्छ । राज्यको प्रत्यक्ष संलग्नतामा प्रकाशित गोरखापत्रको प्रमुख दायित्व भनेकै राज्यप्रतिको जिम्मेवारीबोध हो । गोरखापत्रलाई अरू जस्तो गैरजिम्मेवार बन्ने छुुट छैन । त्यसैले सत्य र तथ्य नै समाचारको मूल आधार हो । समाचारका एबीसी फर्मुलालाई गोरखापत्रले आत्मसात् गर्छ । ए अर्थात् एकुरेसी, बी अर्थात् ब्यालेन्स र सी भनेको क्रेडिबिलिटीले नै समाचारलाई जीवन्त बनाउने हो । यो फर्मुलाबाट पर जाने अवस्थामा गोरखापत्र छैन । 

शुद्धता, निष्पक्षता र विश्वसनीयताले नै अखबारको साख बढाउने हो । एक पटक गुमेको साख फेरि फर्काउन सहज छैन । गोरखापत्रले त्यो साख अझै कायम राखेको छ । यो साख र विश्वास आर्जन गर्न खडा गोरखापत्रमा काम गर्ने पुराना पुस्ताको महŒवपूर्ण योगदान छ । त्यसलाई अझ परिष्कृत बनाउने काम पछिल्ला पुस्ताले गरेका हुन् । 

यति हुँदाहुँदै गोरखापत्रका सामुन्ने थुप्रै चुनौती पनि छन् । पहिलो चुनौती भनेको प्रविधिमा आएको परिवर्तनलाई ग्रहण गर्नु नै हो । आज पाठक नै स्मार्ट भइसकेको अवस्था छ । इन्टरनेट र सामाजिक सञ्जालले गर्दा पाठकलाई समाचार थाहा पाउन ‘प्रिन्ट भर्सन’ नै कुरिरहनुपर्ने बाध्यता छैन । छिनछिनमा समाचार अपडेट हुन्छन् । समाचार पढ्न भनेर पाठकले बिहानसम्म अखबार कुर्ने अवस्था निमिट्यान्न भएको छ । त्यसैले प्रिन्ट भर्सनले त आफूलाई पाठकको रुचि जगाउने विषय पहिल्याउनुपर्ने बाध्यता छ । समाचारमा ‘छ क’को उत्तर हुनुपर्छ भनिन्छ । प्रिन्ट भर्सनचाहिँ अब यतिले पुग्दैन । दुईवटा थप ‘क’को उत्तर चाहिने भएको छ । कन्सिक्वेन्स र कज पनि थपिएका छन् ।

भोलि छापिने प्रिन्ट भर्सनमा घटनाका कारण र प्रभावबारे पाठकलाई जानकारी दिनुपर्ने चुनौती छापा माध्यमको हो । यो चुनौती गोरखापत्रका लागि पनि आइलागेको छ । समाचार मात्रै थाहा पाउन कसैले भोलि बिहानसम्म कुर्नुपर्ने बाध्यता अब रहेन । पाठकलाई घटनाका कारण र प्रभावबारे थप जानकारी दिन सक्नुपर्छ । पाठकलाई भोलि बिहानसम्म धैर्य राख्न गोरखापत्रले नयाँ स्वरूपमा आफूलाई ल्याउन सक्नुपर्छ । केका लागि भोलि गोरखापत्र पढ्ने भन्ने जिज्ञासा पाठकका लागि जगाउनु नै मूल चुनौती हो । 

गोरखापत्रले आफूलाई नयाँ रूप र स्वरूपमा ल्याइसकेको छ । वैशाख १ गतेबाटै नयाँ साजसज्जा र डिजाइनमा गोरखापत्र पाठकसामु आएको छ । बाहिरी आवरण मात्र फेरिएको छैन, भित्री अन्तर्वस्तु पनि बदलिएको छ । जनसरोकारका विषय नै गोरखापत्रको प्राथमिकतामा परेको छ । गोरखापत्रमा प्रकाशन हुने सामग्री पुरातनवादी छैनन् । सार्वजनिक सरोकारका विषय बढी पाइन्छन् । साथै, नयाँ नेपालको नाममा विगत लामो समयदेखि गोरखापत्रले बहुभाषामा विभिन्न सामग्री प्रकाशन गर्दै आएको छ । यो भनेको राष्ट्रिय एकता प्रवद्र्धनमा एउटा कोसेढुङ्गा हो । गोरखापत्र भनेको राज्यको संयन्त्र हो । त्यसैले सबै जातजाति भाषाभाषीको साझा फूलबारीका रूपमा गोरखापत्रले आफूलाई स्थापित गर्नुपरेको छ । त्यो गहन जिम्मेवारी इमानदारीपूर्वक बहन भएको छ । 

अब हामीले नयाँ प्रविधिसँग आफूलाई सफलतापूर्वक जोड्नुपर्ने बाध्यता छ, त्यो भनेको अबको माग नै डिजिटल भर्सन हो । गोरखापत्रले पछिल्लो समय आफ्नो डिजिटल भर्सनलाई थप स्मार्ट बनाएको छ । गोरखापत्रको अनलाइन भर्सन भिजिट गर्नेको सङ्ख्या उल्लेख्य छ । झन्डै साढे सात लाख पाठकले दैनिक गोरखापत्र भिजिट गर्छन्, त्यो पनि अर्गानिक । धेरैले आफ्नो भिजिटर सङ्ख्या बढाउन बुस्ट गर्ने गरेको पाइन्छ । गोरखापत्रले त्यो गर्दैन । अर्गानिक रूपमा हाल साढे सात लाख भिजिटरको हिट पाउनु ठूलो विश्वास र भरोसा हो । यद्यपि हामीले अझै धेरै गर्न बाँकी छ । केही गर्नुपर्छ भन्ने अठोट छ । त्यसैले आगामी दिन गोरखापत्रलाई थप उचाइमा लैजाने अभियानले गति लिनेछ । 

गोरखापत्र १२१ वर्षदेखि नेपालको राजनीतिक, आर्थिक, सामाजिक, भाषिक, सांस्कृतिक रूपान्तरणको अनवरत साक्षी छ । राणा शासनमा सुरु भएको यस पत्रिकाका प्रकाशन अहिले सङ्घीय शासन प्रणालीको मर्मअनुरूप प्रादेशिक तहबाट पनि हुन थालेको छ । राष्ट्रिय संस्करणबाहेक विराटनगर र कोहलपुर संस्करण त्यसका उदाहरण हुन् । गोरखापत्र संस्थानले उचित प्रबन्ध गरी बाँकी पाँच प्रदेशबाट पनि क्रमशः गोरखापत्र दैनिकलगायत अन्य प्रकाशन प्रकाशित गर्ने तयारी थालिसकेको छ । गोरखापत्रको त्यस्तो विस्तारले नागरिकको सूचनाको हकलाई घरदैलोमा नै पु-याउने काम गर्नेछ । राज्यको सञ्चारमाध्यमका रूपमा यस कार्यमा सरकारले थप सहयोग गर्नुपर्ने अवस्था छ । अनि मात्र गोरखापत्र राष्ट्रको गौरवका रूपमा कालजयी बन्नेछ ।





Author

शिवकुमार भट्टराई