• १२ असोज २०८१, शनिबार

‘थारु सम्बद्ध सम्पदाहरु’ पुस्तक लोकार्पित

blog

थारु आयोगद्वारा प्रकाशित पुस्तकको लोकार्पण गर्नुहुँदै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता ।

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २३ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले समुदायको आफ्नो ऐतिहासिक सम्पदा ती जाति समुदायको इतिहास भएकाले त्यसको संरक्षण तथा प्रवर्धनमा लाग्न आग्रह गर्नुभएको छ । 

थारु आयोगले प्रकाशन गरेको ‘थारु समुदाय सम्बद्ध सम्पदाहरु’ नामक पुस्तक प्रतिवेदनको बुधबार यहाँ लोकर्पण गर्दै उहाँले सो आग्रह गर्नुभएको हो । पुराना र ऐतिहासिक सम्पदाको संरक्षण गर्न नसक्दा अनेकन सम्पदाहरु लोप हुने गरेको चर्चा गर्दै मन्त्री गुप्ताले भन्नुभयो, “ऐतिहासिक र पुरातात्विक सम्पदाहरु ती समुदायको अमूल्य निधि हुन्, पहिचान हुन्, त्यसको संरक्षणमा समुदाय स्वयम् लाग्नुपर्छ ।”


सरकारको तर्फबाट गर्नुपर्ने सहयोग भए त्यसका लागि मन्त्रालय सहयोग गर्न तयार रहेको उहाँले प्रतिवद्धता जनाउनुभयो । थारु आयोगले सम्पदाको सङ्गालो पुस्तक प्रकाशन गरेर राम्रो काम गरेको भन्दै उहाँले त्यसका लागि धन्यवाद व्यक्त गर्नुभयो । 

थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीको अध्यक्षतामा भएको पुस्तक लोकार्पण कार्यक्रममा आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङले संवैधानिक आयोगहरु अधिकार सम्पन्न नभएका कारण समुदायले चाहेजस्तो काम गर्न नसकिएको बताउनुभयो । थारु आयोगले पनि साना तिना काम गरे पनि समुदायका लागि ठोस काम गर्ने अधिकार नरहेको उहाँले प्रष्ट पार्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य शान्ति चौधरी, आयोगका सदस्यहरु डा. उमाशङ्कर चौधरी, सुबाेधसिंह थारु, भोलाराम चौधरी, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्यसचिव कमलप्रसाद राजवंशी, थारु कल्याणकारिणीसभाका महामन्त्री प्रेमीलाल चौधरीलगायतको सहभागिता थियो । 


आयोगले अध्ययन अनुसन्धान गराएर तयार गरेको प्रतिवेदन पुस्तकमा १८९ वटा सम्पदा समेटिएका छन् । सातै प्रदेशका थारु गाउँका देवथान तथा धार्मिक सम्पदालाई पुस्तकमा समेटिएको छ ।