• १२ असोज २०८१, शनिबार

सक्नेले हेरेनन् नसक्नेलाई चिन्ता

blog

दोलखा समाचारदाता

दोलखा, साउन २३ गते  । दोलखाको गौरीशङ्कर गाउँपालिका–५ मा करिब छ दशकअघि स्थापना भएको विष्णुश्वरी प्राथमिक विद्यालय भवन जीर्ण हुँदै गएकोमा स्थानीय चिन्तित बनेका छन् । 

विसं २०२२ मा स्थापित यसै विद्यालयमा पढे/पढाएकासमेत उच्च पदमा पुगेका छन् तर विद्यालयप्रति कसैको चासो नरहँदा विद्यालय भवन जीर्ण हुँदै गएपछि स्थानीय चिन्तित बनेका पूर्वविद्यार्थी सुवास सुरेलले दुःखेसो पोख्नुभयो । 

उहाँका अनुसार एक दर्जनभन्दा बढी स्थानीय नै प्रधानाध्यापक बनेर अन्यत्र गएपछि विद्यालयलाई चटक्कै बिर्सनुभयो । यसै विद्यालयमा पढ्नु भई पढाउनुसमेत भएकी सरस्वती बस्नेत प्रदेश सभा सदस्य हुँदै मन्त्री पनि बन्नुभयो तर विद्यालय भवन जीर्ण हुँदा चासोसम्म देखाउनु भएन । उहाँले चाहेको भए भवन बन्थ्यो, दरबन्दी थपिन्थ्यो होला । 

“यसै विद्यालयमा पढ्नुभएका सोयमबहादुर खड्का पालिकाका अध्यक्ष बन्नुभयो । पाँच वर्षको अवधिमा पुलुक्क पनि हेर्नुभएन । उहाँले पनि सक्नुहुन्थ्यो होला । पढेको र गाउँको विद्यालय भएकाले हामीले हाम्रातर्फबाट भरमग्दुर प्रयास भयो तर सुनुवाइ भएन, गुनासो हावाले उडाएर लग्यो,” स्थानीय सुरेलले दुःखेसो पोख्दै भन्नुभयो, “हाम्रो पहुँच पुगेन । विद्यालयको माया लाग्छ । बुवाले पढ्नुभयो । मैले पढेँ । अहिले छोरी पढ्दै छिन् तर पहुँच नहुँदा टुलु टुलु हेर्नुबाहेक केही पनि गर्न सकिनँ । मन हुनेको धन वा पहुँच हुँदो रहेनछ, धन वा पहुँच हुनेको मन हुँदो रहेनछ ।”

पूर्वविद्यार्थी मधुसूदन आचार्य भन्नुहुन्छ, “विद्यालयको आफ्नै जग्गा छ । पहुँच नपुग्दा भूकम्पप्रतिरोधी भवनसम्म निर्माण हुन सकेन । विद्यालय संरक्षण सरकारले गर्नुपर्ने हो । कसैको नजर नपुग्दा पुरानै भवन पनि पहिरोले तान्न लागेको छ । भवन जीर्ण बनेकै कारण विद्यार्थीको सङ्ख्या घट्दै गएको छ ।” प्रधानाध्यापक सूर्यबहादुर खत्रीका अनुसार भवनको ठाउँ ठाउँमा पानी चुहिएर बाटा थाप्नु परेको छ । बिजोगले कक्षा १ देखि ५ चलेको विद्यालयमा अहिले १७ जना विद्यार्थी अध्ययनरत छन् । कुनै दिन डेढ सय विद्यार्थी थिए । विद्यार्थी घट्दै गएपछि अहिले दरबन्दी दुई मात्र रहेको छ । बहुकक्षा शिक्षण विधिबाट पढाउने गरिएको छ ।