• २८ भदौ २०८१, शुक्रबार

जाङगाउँभरि दुई वटा घर

blog

बसाइँसराइले रित्तिदै गएको लिमीको जाङगाउँ  । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, साउन २३ गते । नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीको जाङगाउँमा दुई घरधुरी मात्र रहेका छन् । गाउँलेहरू बसाइँ सरेर काठमाडौँ तथा अन्यत्र गएपछि अहिले सो गाउँभरि केवल दुई घर मात्रै छन् । 

लिमीको जाङगाउँका स्थानीय कुन्चोक तामाङले लिमीकै दोस्रो ठुलो गाउँ जाङमा हाल दुई वटा घर मात्रै रहेको बताउनुभयो । उक्त गाउँमा पहिले ६४ घरधुरी थिए । १० वर्षदेखि उक्त गाउँका स्थानीय काठमाडौँ बसाइँ सर्दै आएका छन् । सुविधामुखी भएपछि गाउँमा बसेर दुःख नगर्ने निष्कर्षमा पुग्दा गाउँ रित्तिँदै गएको उहाँले बताउनुभयो । गत वर्षसम्म १२ घरधुरी रहे पनि यस वर्ष दुई घर मात्रै रहेको उहाँको भनाइ छ ।

गाउँमा किसानी गरेर बाहै्र महिना खान लाउन नपुग्ने भएपछि चीनको ताक्लाकोटमा गएर काम गर्नुपर्ने वा व्यापार गर्न काठमाडौँ र भारततर्फ जानुपर्ने भएपछि यहाँका बासिन्दाले गाउँ छाड्दै गएका हुन् । 

हाल सो गाउँमा रहेका दुई घरमा पनि ज्येष्ठ नागरिक मात्रै बस्ने गरेका छन् । लिमीका वडाध्यक्ष पाल्जोर तामाङका अनुसार लिमीमा तीन वटा गाउँ रहेका छन् । तीन गाउँमध्ये अन्य हुने खाने व्यक्तिको बाहुल्य भएकाले यहाँका बासिन्दा गाउँ छोडी बसाइँ सरिसकेको बताउनुभयो । उहाँले अब जाङगाउँ बस्तीविहीन हुने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभयो । 

उक्त गाउँमा खानेपानी, विद्युत्, सिँचाइ र सडकसमेत पुगेको छ तर स्थानीयको गाउँ छाड्ने क्रम भने रोकिएकोे छैन । उहाँले हाल गाउँमा बसिरहेका दुई घरधुरीलाई पनि गाउँ छाड्न दबाब परिरहेको भए पनि उहाँहरूले नमानेका कारण गाउँ मानिसविहीन हुने अवस्थाबाट जोगिएको बताउनुभयो । गाउँ छाड्ने बढेपछि उक्त गाउँको भृकुटी प्रावि गत वर्ष बन्द हुँदा त्यहाँका शिक्षकलाई गाउँपालिकाले अन्यत्र व्यवस्था गरेको थियो ।