• २ माघ २०८१, बुधबार

भूकम्पले घर ढाल्यो, पहिरोले टहरो

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, साउन २३ गते । गत वर्ष जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले मानवीय र भौतिक क्षति बेहोरेका रुकुमपश्चिमवासीले यो बर्खामा मनसुनजन्य विपत्बाट उस्तै क्षतिको सामना गर्नु परिरहेको छ । भूकम्पले घर भत्काएपछि टहराको सहाराका जीवन गुजारिरहेकामध्ये अधिकांश प्रभावित परिवार त्रासमै रात बिताउने गरेका छन् भने कतिले त्रिपाल टाँगेर बस्न बाध्य भएका छन् । आठबिसकोट नगरपालिका–११, फारुलागाउँका नरबहादुर खड्काले एउटा विपत्को घाउ पुरिन नपाउँदै अर्को विपत्ले घर न घाटको अवस्थामा पु¥याएको दुःखेसो पोख्नुभयो । 

भूकम्पले घर भत्काउँदा भाग्यले बाँचिए पनि वर्षाले हरेक रात त्रास दिइरहेको उहाँले बताउनुभयो । खड्काले भन्नुभयो, “भूकम्पले घर ढल्यो, अहिले बस्नलाई बनाएको अस्थायी टहरा पहिरोले लग्यो ।” फारुलागाउँका आठ वटा अस्थायी आवास पहिरोले क्षति गरेको छ । यहाँका ४५ घर अझै पहिरोको उच्च जोखिममै छन् । सोही गाउँका बिर्मी नेपालीले पहिरोले टहरा बगाएपछि त्रिपालको भरमा बर्खायाम काटिरहेको बताउनुभयो । 

गाउँमाथिको साउनेपानीबाट पहिरो आउनुअघि नै टहराबाट निस्किएकाले आफूहरू बाँच्न सफल भएको तर खाद्यान्नलगायतका सामान जोगाउन नसकिएको उहाँले जनाउनुभयो । भूकम्पले घर भत्काएपछि सरकारले दिएको अनुदान रकमले टहरा बनाएर बस्दै आएका यहाँका स्थानीय त्रिपालमुनि सरेका छन् । नेपालीले भन्नुभयो, “सरकारले दिएको पहिलो किस्ता र थप केही रकम जोहो गरेर टहरा बनाएर बसेका थियौँ तर दोस्रो किस्ता नपाउँदै पहिरोले टहरा नै भत्काइदियो, हामीलाई आपतैआपत आइलागेको छ ।” साउन १ गते वडा नं. १२ मा बाढीका कारण टहरामा सुतेका तीन बालिकाको मृत्यु भएको थियो । 

जग्गा भाडामा बास

फारुला बस्तीका १६ परिवारलाई स्थानीय खलबहादुर घर्तीको जग्गामा त्रिपाल टाँगेर राखिएको छ । घर्तीको जग्गा वडा कार्यालयले भाडामा लिएर पहिरो प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारेको हो । ती परिवारको अन्यत्र बस्न लायक जग्गा नभएको, सुन्तलाबारी, मकै खेतीसमेत पहिरोले बगाएको वडाध्यक्ष प्रेमबहादुर पुनले जानकारी दिनुभयो । 

फारुला बस्ती जस्तै यही वडाको चिसापानी, गोइरी, डाँडागाउँलगायतका बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् । वडाध्यक्ष पुनले एउटा विपत् नसकिँदै गाउँलेमाथि अर्को विपत् थपिएको बताउनुभयो । चिसापानीका ६४ घर पहिरोको जोखिममा रहेका छन् भने ३० परिवारले घर छोडेर अन्यत्रै आश्रय लिएका छन् । गोइरी गाउँका २० घर जोखिममा रहेका छन् । यहाँका चार परिवारलाई त्रिपालको सहारामा बसेका छन् । 

भूकम्पपछि यहाँका अधिकांश बस्ती र घर बाढीपहिरोको जोखिममा रहेका छन् । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार मनसुनजन्य घटनाका कारण आठबिसकोट र मुसीकोटमा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनुभएको छ । यस अवधिमा १६ वटा पशुचौपायाको मृत्यु भएको, १८ वटा घर, १२ वटा पानी घट्ट र एउटा विद्यालय भत्किएका छन्  । बाढीपहिरोका कारण जिल्लाभर २८३ घरपरिवार विस्थापित भएका छन् भने दुई हजार सात सय घरधुरी जोखिममा रहेका छन् ।