काठमाडौँ, साउन २१ गते । नेपालको प्रादेशिक तथा स्थानीय सडक सुधारको लागि विश्व बैङ्क र सरकारबिच ११ अर्ब रुपियाँ बराबरको वित्तीय सम्झौता भएको छ ।
सोमबार अर्थ मन्त्रालयमा भएको एक कार्यक्रमबिच विश्व बैङ्कसँग नेपाल सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधारका लागि वित्तीय सम्झौतामा हस्ताक्षर गरेको हो ।
सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैङ्कको तर्फबाट विश्व बैङ्कको माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि नयाँ कन्ट्री डाइरेक्टर डेभिड सिस्लेनले हस्ताक्षर गर्नुभएको हो ।
विश्व बैङ्कले प्रादेशिक तथा स्थानीय सडक सुधार कायोजनाका लागि एक सय मिलियन अमेरिकी डलर अर्थात् करिब ११ अर्ब रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
हस्ताक्षर पश्चात् बोल्नुहुँदै अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले विश्व बैङ्कसँग एक सय मिलियन अमेरिकी डलर बराबरको प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाका लागि वित्तीय सहयोग सम्झौतामा हस्ताक्षर भएको बताउनुभयो ।
उहाँले आयोजनाभित्र दुई सय किलोमिटर प्रादेशिक र स्थानीय सडक निर्माण र स्तर उन्नति हुने जानकारी दिनुभयो । उहाँले प्रादेशिक र स्थानीय तहको यातायात क्षेत्रको निर्माणमा असल अभ्यासहरू अवलम्बन गर्न प्रोत्साहित गरी क्षमता विकास हुने विश्वास लिएको बताउनुभयो ।
सहसचिव नेपालले प्रदेश र स्थानीय तहहरूलाई अझ भरपर्दो, सुरक्षित र सबै समयमा सडक सञ्चालन हुने वातावरण बनाउने बताउनुभयो । उहाँले सडक सुधार भएसँगै आर्थिक र बजारलाई जोड्दै थप आर्थिक लगानीको बाटो खोल्ने जिकिर गर्नुभयो । पहिलो चरणमा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा गरी तीन प्रदेशमा कार्यान्वयन हुने उहाँको भनाइ छ । उहाँले आयोजना प्रदेश सरकारका भौतिक मन्त्रालयमार्फत कार्यान्वयन हुने बताउनुभयो ।
‘‘विश्व बैङ्कसँग एक सय मिलियन अमेरिकी डलर बराबरको प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाका लागि वित्तीय सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । यो आयोजनाभित्र २ सय किलोमिटर प्रादेशिक र स्थानीय सडक निर्माण र स्तर उन्नति हुनेछ । थप एक सय एक किलोमिटर सुधार हुनेछ । तीन सय किलोमिटरमा आमसिक सुधार हुनेछ । यो आयोजनाले प्रादेशिक र स्थानीय तहको यातायात क्षेत्रको निर्माणमा असल अभ्यासहरू अवलम्बन समेत गर्न प्रोत्साहित गरी क्षमता विकास हुनेछ । प्रदेश र स्थानीय तहहरूलाई अझ भरपर्दो, सुरक्षित र सबै समयमा सडक सञ्चालन हुने विश्वास छ ।,’’ सहसचिव नेपालले भन्नुभयो, ‘‘सडक सञ्चालनले आर्थिक क्षेत्र र बजारलाई जोड्नेछ । यो सडकले थप आर्थिक लगानीको बाटो खोल्नेछ । स्थानीय यात्रुहरूको सडक सुधार भएपछि लागत घट्छ । पहिलो चरणमा तीन वटा प्रदेशमा कार्यान्वयनमा जानेछ ।’’
त्यस्तै विश्व बैङ्कको माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि कन्ट्री डाइरेक्टर डेभिड सिस्लेनले विश्व बैङ्कले नेपालको प्रादेशिक र स्थानीय सडक सुधारका लागि सहयोग प्रदान गरिएको बताउनुभयो । उहाँले प्रादेशिक र स्थानीय सडक सुधार गरी यातायात क्षेत्रको विकास तथा क्षमता विकास हुने विश्वास लिएको धारणा व्यक्त गर्नुभयो । उहाँले नेपालको यातायात तथा सडक क्षेत्रको स्तरोन्नति गरी सहज र सुरक्षित सेवामा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
विश्व बैङ्कले प्रादेशिक र स्थानीय सडक सुधारको लागि दिने अनुदान सहुलियत रकम स्वीकार गर्ने यसअघि नै सरकारले निर्णय गरेको थियो ।