• २ माघ २०८१, बुधबार

श्रद्धालुको पर्खाइमा पार्वती गुफा

blog

पर्वतको कुस्मा नगरपालिका–१, पाङ र २ खुर्कोटको सीमामा रहेको पार्वती गुफा । तस्बिर : गणेश पौडेल

पर्वत समाचारदाता 

पर्वत, साउन २१ गते । पर्वतको कुस्मा नगरपालिका–१, पाङ र २ खुर्कोटको सीमामा रहेको पार्वती गुफा प्रचार अभावमा ओझेलमा परेको छ । धर्मग्रन्थमा उल्लेख भए अनुसार हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव पति पाउँ भनी कठोर तपस्या गरेको उक्त स्थान लामो समयसम्म संरक्षण र प्रचार अभावका कारण ओझेलमा परेको हो । 

गुफाको अग्रभागमा हात्तीका ठुला सुँडका आकृतिका साथै पार्वती माताको ठुलो पत्थरमा स्वआकृतिको मूर्ति रहेको छ । गुफाबाट निस्केको पानी करिब दुई किलोमिटर तल कालीगण्डकी नजिकैको पहराबाट एक हजार धाराको छहरा निस्किएको छ । स्थानीय कमलप्रसाद पौडेलले भन्नुभयो, “अलौकिक स्थान रहेको भए पनि यसको प्रचार हुन सकेको छैन । सीता माताको जन्मस्थान जनकपुर जस्तै पार्वती माताको जन्मस्थान पाङको विकास हुनुपर्ने हो तर सरकारी तवरबाट पर्याप्त सहयोग नहुँदा ओझेलमा परेको छ ।” 

पाङ पार्वती माताको जन्मभूमि हो भनेर योगी नरहरि नाथले आफ्नो पुस्तक ‘देश दर्शन’ मा उल्लेख गर्नुभएको भए पनि पर्याप्त पूर्वाधार र प्रचार अभावमा उक्त स्थान विकास हुन नसकेको स्थानीयको भनाइ छ । यस ठाउँलाई सरकारले समेत धार्मिक गन्तव्यका रूपमा विकास गरी काम गर्नुपर्ने स्थानीयको माग छ । 

सरकारी तवरबाट केही काम हुन नसकेपछि पछिल्लो समय स्थानीयको पहलमा पार्वती गुफा धार्मिक तथा पर्यटकीय क्षेत्र विकास संस्था बनाएर काम थालेसँगै पूर्वाधारको विकास भइरहेको छ । पार्वती गुफाभित्र पार्वतीले पूजा गरेका, तपस्या गरेका ठाउँ आकृतिका रूपमा देखिएको र ती स्थानको संरक्षणका लागि काम भइरहेको संस्थाका अध्यक्ष छविलाल पौडेलले बताउनुभयो । करिब एक किलोमिटर लामो गुफा तथा गुफाबाहिरका ठाउँका पैदलमार्ग, धर्मावलम्बी बस्ने स्थान, मन्दिर र पुललगायतका पूर्वाधार निर्माण भइरहेका छन् । हालसम्म करिब एक करोडको लागतमा काम भएको र केही निर्माणकै चरणमा रहेको उहाँको भनाइ छ । 

संस्थाका उपाध्यक्ष जनक पौडेलका अनुसार अहिले प्रदेश तथा स्थानीय सरकारको बजेटबाट पूर्वाधार निर्माण तथा संरक्षणका लागि काम भइरहेको बताउनुभयो । प्रदेश सरकारले दिएको ९० लाख साथै स्थानीयको सहयोगमा काम भइरहेको छ । पर्वतको सदरमुकाम कुस्माका साथै बागलुङ बजारदेखि नजिक रहेर पनि उक्त स्थानको विकास हुन नसक्दा श्रद्धालुलाई त्यहाँ जान समस्या हुने गरेको बताइन्छ । 

उक्त स्थानमा बालाचतुर्दशी स्वस्थानी व्रतको समय तथा शिवरात्रि साथै सोमबारका दिनमा विशेष पूजा हुने गरेको छ । केही वर्षदेखि पाङका अन्य स्थानलाई समेत जोडेर पार्वतीधाम बनाउने अभियानका साथ अन्य स्थानको समेत खोजी भइरहेको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “जहाँ माता पार्वतीका धार्मिक विषय जोडिएका छन् तिनलाई समेत एउटै संस्थाभित्र ल्याउने गरी काम गरेका छौँ । ती सबै स्थानको विकास गरी एउटै धाम बनाउने योजना छ ।”