• ९ मंसिर २०८१, आइतबार

चार वर्षपछि गाउँमा खानेपानी

blog

गाउँमा खानेपानी धारा पुगेपछि पानी भर्दै स्थानीय । तस्बिर : लीलाधर वली

घोराही समाचारदाता  

घोराही, साउन २१ गते । दाङको बगलाचुली गाउँपालिका–६, ठुलो बचेनी गाउँ भौगोलिक रूपमा विकट क्षेत्र हो । पहाडी क्षेत्र भएकाले सडक, विद्युत्, खानेपानीलगायतका आधारभूत कुराको पनि ठुलो समस्या छ । 

विशेष गरी खानेपानीको समस्या समाधान गर्ने गरी २०७३/७४ सालमा गाउँमा खानेपानीको योजना परेको थियो । खानेपानी डिभिजन कार्यालय र स्थानीयको लागत सहभागितामा करिब ३९ लाख खर्च गरेर खानेपानी आयोजना हाल निर्माण भएको थियो । गाउँमा नजिकैको खोलामा रहेको कुवाबाट सोलारका माध्यमबाट करिब एक किलोमिटर अग्लो ठाउँमा लगेर खानेपानी वितरण गरिएको थियो । गाउँमा खानेपानी सुविधा भएपछि यहाँका बासिन्दामा खुसी छाएको थियो । 

तर खानेपानीको सुविधा तीन वर्षभन्दा बढी चल्न सकेन । आयोजना नचलेको यहाँ खानेपानीको फेरि पीडा सुरु भयो । चार वर्षसम्म यो पीडा सहेका यहाँका बासिन्दाले फेरि खानेपानीको सुविधा पाएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रेवती बुढाले बताउनुभयो । हाल सो आयोजना मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइएको छ । 

खानेपानी योजना पुनः सञ्चालनमा आएपछि सहजता भएको भन्दै अध्यक्ष बुढाले भन्नुभयो,  “वर्षौपछि गाउँमा आएको खानेपानी योजना बिग्रेर बन्द हुँदा स्थानीयले पानीका लागि धेरै दुःख झेल्नु परेको थियो । बल्ल यो समस्या हटेको छ ।” 

घोराही–मुर्कुटी सडकखण्ड विस्तारका क्रममा जथाभाबी रूपमा जमिन खन्दा खानेपानी आयोजना बन्द भएको थियो तर अहिले सञ्चालनमा आउँदा खुसी लागेको छ । चार वर्षदेखि बन्द रहेको खानेपानी आयोजना सञ्चालनका लागि करिब दुई लाख ५० हजार रुपियाँ खर्च भएको बगलाचुली गाउँपालिका–६ का वडा सदस्य हिमाल महरा बताउनुहुन्छ । उहाँका अनुसार खानेपानीको ट्याङ्की मर्मत, नयाँ पाइप विस्तार र विद्युत् जडानलगायतका काम गरिएको छ ।