• १२ असोज २०८१, शनिबार

क्यापिटलले गर्‍यो छ अर्ब बढी लगानी

blog

काठमाडौँ, साउन २१ गते । एनआइएमबी एस क्यापिटलले लगानीकर्ताको छ अर्बभन्दा बढी रकमको लगानी व्यवस्थापन गरेको जनाएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडको पूर्ण स्वामित्वमा मर्चेन्ट बैङ्किङ तथा इन्भेस्टमेन्ट बैङ्किङ क्षेत्रमा सेवा प्रदान गर्दै आएको कम्पनीले १२ वर्ष पूरा भएको अवसरमा यस्तो जानकारी दिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हाल एनआइएमबी एस क्यापिटलले १० अर्बभन्दा बढी मूल्याङ्कन भएका पाँच वटा म्युचुअल फन्डको व्यवस्थापन र लगानी व्यवस्थापन सेवा अन्तर्गत लगानीकर्ताको छ अर्बभन्दा बढी रकमको लगानी व्यवस्थापन गरेको जानकारी गराउनुभयो ।

भविष्यमा लगानीकर्ता तथा ग्राहक वर्गको लगानीमा उच्चतम् आम्दानी प्रदान गर्ने कम्पनीको प्रतिबद्धता रहेको उहाँले बताउनुभयो ।

संस्थाले हालसम्म ४१ लाखभन्दा बढी ग्राहकलाई आफ्नो सेवा प्रदान गरिरहेको छ भने ५० हजारभन्दा बढी डिम्याट खाता व्यवस्थापन गर्नुका साथै दुई सयभन्दा बढी आइपिओ/एफपिओ जारी गरेको जनाएको छ ।

धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त मर्चेन्ट बैङ्करका रूपमा कम्पनीले आइपिओ जारी तथा बिक्री व्यवस्थापन, सेयर रजिस्टार, डिम्याट सेवा, प्रत्याभूति सेवा र लगानी व्यवस्थापन सेवा जस्ता सुविधा प्रदान गर्दै आएको छ ।

एनआइएमबी एस क्यापिटलले सन् २०१४ मा नेपालको पहिलो म्युचुअल फन्ड योजना र २०१९ मा पहिलो खुला रुपी म्युचुअल फन्ड लन्च गरेको थियो ।

कम्पनीका अध्यक्ष सचिन तिब्रेवाल, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र पूर्वमुख्य सचिव विमला कोइरालाले एनआइएमबी एस क्यापिटलले हासिल गरेको उपलब्धिबारे चर्चा गर्नुभएको थियो ।

एनआइएमबी एस क्यापिटलले प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फन्ड प्रबन्धकका रूपमा धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरेको छ । कम्पनीले १० अर्बभन्दा धेरैको लगानी क्षमता रहेको प्राइभेट इक्विटी फन्ड–एनआइबीएल इक्विटी पार्टनर्सको व्यवस्थापन पनि गर्दछ । हालसम्म एनआइबिएल इक्विटी पार्टनर्सले एक अर्बभन्दा बढी लगानी गरिसकेको छ भने भविष्यमा सक्रिय रूपमा थप कोष लगानी गर्ने योजना कम्पनीको रहेको छ ।