गोरखापत्र अनलाइन
काठमाडौं, माघ ३ गते । नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) आफ्नो ११ औं राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । कोशी प्रदेशको विराटनगरमा हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको महासचिव दिवस राईले बताउनुभयो ।
माघ ९ र १० गते हुने महाधिवेशनबाट आगामी नेतृत्व लिनेहरुको दौडधुप पनि सुरु भएको छ । महासंघमा ५६ वटा जातीय संस्थाहरु आवद्ध छन् । सोहीअनुसार मतदाता पनि ५६ जना मात्र रहने गरेका छन् ।
यद्यपि महाधिवेशनमा महासंघसँग सम्बन्धन प्राप्त संघ संस्थाबाट करिब ५ सय प्रतिनिधिहरु रहने महासचिव राईले बताउनुभयो । तर उहाँहरुको भोटिङ राइट भने रहने छैन ।
आगामी नेतृत्वका लागि महासचिव दिवस राई, सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवार, किरात यायाक्खाका अध्यक्ष जीवन हाताचो, नेपाल छन्त्याल संघका निवर्तमान अध्यक्ष मोहन छन्त्याल, निमा लामा लगायत देखिनुभएको छ ।
महासंघले आइतबार महाधिवेशन तयारीबारेमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने जनाएको छ । महाधिवेशनमा प्रतिनिधित्व गर्ने जातीय संस्थाहरुलाई २५ हजार रुपियाँ दायित्व, सम्बन्धन संस्था र जिल्ला समितिलाई १० हजार रुपियाँको दरले दायित्व निर्धारण गरेको महासंघले जनाएको छ ।