जयमान बुढामगर
रुकुमपूर्व, साउन २० गते । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल लोकमार्ग (मध्यपहाडी) रुकुमपूर्व खण्डमा सडक जीर्ण बन्दै गएको छ । मध्यपहाडी लोकमार्ग रुकुमपूर्व खण्डमा जम्मा ५५ किलोमिटर पर्दछ । यसमध्ये ३५ किलोमिटर कालोपत्रे गरिएको छ भने भुमे गाउँपालिका–१, पनचासे–बागलुङसँगको सिमाना पर्ने यिरनेतासम्म १३ किलोमिटर र सिस्ने गाउँपालिका–६, रानीकोट–रुकुमपश्चिमको सिमाना खोपीचार सात किलोमिटर गरी २० किलोमिटर कालोपत्रे गर्न बाँकी छ ।
सडक कालोपत्रे नगरिएको खण्डमा सडक अस्तव्यस्त बनेको छ । साथै सडक पिच भएको ठाउँमा समेत पहिरोले गर्दा सडक जीर्ण बन्दै छ । ठेकेदारले सडक पिच गर्ने काम सके पनि सरकारलाई हस्तान्तरण नगर्दासम्म मर्मतसम्भार गर्नु पर्छ तर सडकमा पहिरो गइरहेकोले पहिरो नहटाउँदा सडक जीर्ण र जोखिमयुक्त बनेको छ ।
बागलुङको सीमा यिरनेता–पन्चासे–लुगुम–काँक्री–खाबाङबगर–किमुबोट–जितखोला–दोमही–काँडाबगर–धौलापैरा–रुकुमकोट–रुकुमपश्चिमको सिमाना खोपीचारसम्म कतै पहिरो र खाल्टाखुल्टीका कारण सडक जीर्ण अवस्थामा पुगेका छन् । विभिन्न स्थानमा गत वर्ष सडकमा आएको पहिरो र भत्किएका नाला, खाल्टाखुल्टीले यात्रा जोखिम बढ्दै गएको छ । यस्तै पहिरोका कारण सडक ठाउँ ठाउँमा भत्किएको सडक मर्मत हुन नसक्दा यात्रुलाई ओसारपसार गर्न असहज भइरहेको अटोचालक मदन सुनारले दुःखेसो पोख्नुभयो । एक/दुई वर्षपहिले आएको बाढीपहिरो अझैसम्म मर्मत नहुँदा यात्रा गर्दा जोखिम मोल्नु परेको सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक मर्मतसम्भार गर्न कसैको ध्यान पुगेको छैन । ध्यान दिने कसले हो ? सरकारले किन ध्यान दिँदैनन् ?”
कालोपत्रेको काममा बेवास्ता
सडक पिचको काम ठेकेदारले बेवास्ता गरेको छ । रुकुमपूर्व र बागलुङको सीमा क्षेत्र पर्ने यिरनेता (पातीहाल्ने) देखि भुमे गाउँपालिका–१, पन्चासेसम्म १३ किलोमिटर खण्डको सडक पिचको तयारी काम आठ वर्ष पुग्दासम्म काम कछुवाको गतिमा छ । ठेकेदारको पूरै बेवास्ता र लापर्बाहीका कारण कामले गति लिन नसकेको हो । १३ किलोमिटर रहेको पन्चासे–यिरनेता सडकखण्डमा २०७३ जेठ १३ देखि २०७६ जेठ १२ सम्म काम सक्ने गरी सिद्धिशाही महादेव खिम्ती भारत जेभीले ठेक्का लिएको थियो तर अहिलेसम्मको सडक पिचको प्रगति हेर्दा शून्य अवस्थामै छ । यसै गरी सिस्ने गाउँपालिका–६, रानीकोट–रुकुमपश्चिमसँगको सिमाना खोपीचारसम्मको सात किलोमिटरमा कालिका प्यासाफिक जेभीले ठेक्का लिएको छ । यस खण्डमा पनि कालोपत्रेका काम सुस्त छ ।
सडक पिचका लागि जिम्मा लिएको ठेकेदार कम्पनीलाई पटक पटक ताकिता गरिराख्दा पनि ठेकेदारले अटेरी गरिराखेको पुष्पलाल लोकमार्ग (मध्यपहाडी) दैलेखका कार्यालय प्रमुख अमितकुमार मण्डलले बताउनुभयो । उहाँले भन्नुभयो, “ताकिता गरेको समयमा काम गरे जस्तो गर्छन् । दुई/चार दिनपछि कहाँ पुग्छन् कहाँ । अटेरी गर्ने ठेकेदारदेखि हामी पनि हैरानी परेका छौँ ।”
लोकमार्ग मर्मतसम्भारका लागि सम्बन्धित ठेकेदार र योजना कार्यालयको जिम्मेवारी रहेको भुमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताउनुभयो । सडक पूर्ण रूपमा पिच गरे पनि सरकारलाई हस्तान्तरण नगर्दासम्म त त्यसको रेखदेख सबै काम ठेकेदार र आयोजना कार्यालयको जिम्मा हुने गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो तर ठेकेदार र आयोजना कार्यालयले मर्मत नगरेका कुनै ठाउँमा त गाउँपालिकाले मर्मत गरी सडक नियमितसमेत गर्ने गरेको उहाँले बताउनुभयो । गाउँपालिकाले सडक निर्माण समयमै सक्न र मर्मत गर्न पटक पटक मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय दैलेखलाई पत्र लेखेको पनि त्यसको कुनै सुनुवाइ नभएको श्रेष्ठले बताउनुभयो ।