• १० माघ २०८१, बिहिबार

खाद्य प्रयोगशाला स्थापनाको तयारी

blog

सुर्खेत, वैशाख २२ गते । कर्णाली प्रदेशमा खाद्य प्रयोगशाला स्थापनाको तयारी थालिएको छ । खाद्यको गुणस्तर मापनका लागि नमुना परीक्षण कर्णालीमै गर्न सुर्खेतमा प्रयोगशाला स्थापनाको कामलाई अन्तिम चरणमा रहेको जनाइएको छ ।  हालसम्म यहाँ प्रयोगशाला नहुँदा बाहिर पठाउनुपर्ने बाध्यता छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आगामी जेठ ३० गतेदेखि प्रयोगशाला सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ । 

कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले उपकरण खरिदको प्रक्रिया कार्य अगाडि बढेको जानकारी दिनुभयो । प्रयोगशालाका लागि घरभाडामा लिएर फर्निचर, कम्प्युटरलगायतको व्यवस्था गरिसकेको उहाँले बताउनुभयो ।  खाद्य तथा खाद्यसम्बन्धी उद्योग मापदण्डअनुसार भए, नभएको नमुना सङ्कलन गरेर हालसम्म बाहिर पठाउने गरिएको र अब छिट्टै यो समस्या हट्ने उहाँको भनाइ छ । 

छ जिल्लामा २७ पटक अनुगमन

कार्यालयले कर्णालीका छ जिल्लामा २७ पटक अनुगमन गरेको छ । निमित्त प्रमुख थापाका अनुसार चालू आर्थिक वर्षको हालसम्म कार्यालयले ३६८ वटा खाद्य उद्योग, दाना उद्योग, पसल, होटल र रेस्टुराँमा अनुगमन तथा निरीक्षण गरेको छ । 

कार्यालयले पसल सुपरमार्केट २६६ वटा, होटल, रेस्टुराँ ७४, खाद्य उद्योग ५७ र चारवटा दाना उद्योगमा अनुगमन गरेका हो ।  मङ्गलबार आयोजना गरिएको तेस्रो त्रैमासिक समीक्षा गोष्ठीमा अनुगमन र निरीक्षणबारे जनकारी दिँदै निमित्त प्रमुख थापाले बजार अनुगमनलाई पनि तीव्रता दिएको बताउनुभयो । सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, डोल्पा र हुम्ला कार्य क्षेत्र रहेको छ । 

यी जिल्लामा कार्यालय आफैँले र अन्य सरोकारवाला निकायसँग समन्वय गरेर खाद्यको नमुना सङ्कलन, खाद्य बजार, दाना बजारको अनुगमन, निरीक्षणलगायतका कार्य गर्दै आएको निमित्त प्रमुख थापाले जानकारी दिनुभयो । 

उहाँले पछिल्लो समय छवटा उद्योगले मापदण्डअनुसार सञ्चालन नभएकाले एक उद्योगको मुद्दा दर्ता भएको र पाँचवटा उद्योगको प्रक्रियामा रहेको जानकारी दिनुभयो । सीमित स्रोतसाधन र जनशक्तिका कारण अझै पनि अनुगमन तथा निरीक्षणको काम प्रभावकारी बन्न नकेको उहाँले बताउनुभयो । २१ जना दरबन्दी रहेको कार्यालयमा आठ जना मात्रै कर्मचारी छन् ।