• १२ पुस २०८१, शुक्रबार

विमानस्थलको सुरक्षा

blog

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै जहाज दुर्घटना हुँदासमेत उद्धार कार्यमा शीघ्र पहुँच पुग्न नसकेको विगतका घटनाले देखाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्क अनुसार गत साउन ९ गते भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनासहित हालसम्म त्रिभुवन विमानस्थल परिसरमा पाँच वटा हवाई दुर्घटना भइसकेका छन् । यी दुर्घटनामा परेर ७२ जनाको मृत्यु भएको छ भने २७८ जना गम्भीर घाइते भएका छन् । विमानस्थलभित्र साधनस्रोत सम्पन्न हवाई सुरक्षा सतर्कता चौबिसै घण्टा हुनुपर्नेमा अनेक कमजोरीका कारण उद्धारमा कठिनाइ अनुभव गरिँदै आएको हो । सौर्य एयरलाइन्स दुर्घटनामै पनि जहाजमा लागेको आगो समयमै निभाउन सकिएको थियो भने धेरैको ज्यान जोगिन सक्थ्यो भन्ने प्रत्यक्षदर्शीको भनाइ आइरहेको छ । सुरक्षा सतर्कता र उद्धार कार्यका प्रशिक्षणहरू प्रशस्तै गरिन्छन् पनि तर आपत् पर्दा उपायविहीन झैँ देखिनु विडम्बनापूर्ण छ । विमानस्थल परिसरको अन्तिम विन्दुबाट वरिपरि सडकमार्गको पहुँच थियो भने सौर्य एयरलाइन्सको दुर्घटनामा पनि दमकलले बेलैमा आगो निभाउन सक्थ्यो । दमकल दुर्घटनास्थलसम्म जान नसक्नु नै प्रमुख कमजोरी देखियो । यो त भयो सामान्य सुरक्षा सतर्कताको कुरा, अर्को अत्यन्तै जोखिमपूर्ण अवस्थामा देखिएको छ हवाई इन्धन डिपो । सिनामङ्गलस्थित इन्धन डिपो विमानस्थल छेउमै भएकाले सुरक्षाका दृष्टिले ज्यादै संवेदनशील भएको आवाज उठ्दै आएको हो । यो त ‘ओछ्यानमाथि झुन्ड्याएको जाँतो’ झैँ अनुभव हुँदै आएको छ । 

वायुसेवा सञ्चालनको अनुमति दिने, वायुसेवा सञ्चालनसम्बन्धी अवस्था, मर्मतसम्भार, विमानस्थलको व्यवस्थापनलगायतका मुख्य कार्यको अनुगमन नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गर्छ । सिनामङ्गलस्थित इन्धन डिपो अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले निर्धारण गरेको अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डविपरीत भएको सम्बन्धमा क्यान जानकार छ । आइकाओले डिपो स्थानान्तरणका लागि क्यानलाई पटक पटक सुझाव दिएको समेत छ । सोही अनुरूप, क्यानले नेपाल आयल निगमलाई दुई वर्षअघि नै पत्राचार गरेको तर निगमले आलटाल गर्दै आएको क्यान पदाधिकारीको भनाइले पुष्टि हुन्छ । केही समयअघि हंसा कन्सल्टेन्सीले तयार पारेको सुरक्षा सतर्कता अध्ययन प्रतिवेदनमा पनि तत्काल स्थानान्तरण गर्न सुझाव दिइएको थियो । आइकाओको मापदण्ड र विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाको गुरुयोजनामा स्थानान्तरणका लागि उपयुक्त स्थानसमेत तोकिएको जानकारीमा आएको छ । विमानस्थलको उत्तर–पश्चिमको गुह्येश्वरीस्थित गल्फकोर्टनजिकैको गहिरो क्षेत्रमा डिपो सार्न जग्गा उपलब्ध गराइसक्दा पनि प्रक्रिया अगाडि बढाउन आयल निगमले आलटाल गरिरहँदा खतरापूर्ण स्थिति छ ।

हवाई इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनासँगै सो डिपो राखिएको हो । निगमले हवाई इन्धन डिपोमा सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाए पनि विमान वा अन्य सम्भावित दुर्घटनामा जुनसुकै बेला गम्भीर क्षति हुन सक्ने उच्च सम्भावना रहिरहेकै हुन्छ । केही वर्षअघि डिपोमा आगलागी हुँदा तत्काल नियन्त्रणमा लिइएको घटना स्मरणीय छ । आगलागी नियन्त्रणमा नआएर ट्याङ्की नै विस्फोट भएको भए विमानस्थल र सिनामङ्गल क्षेत्रको जनधनको क्षतिको कल्पनासम्म गर्न सकिँदैन । सौर्य एयरलाइन्सको अस्तिकै दुर्घटना पनि विमानस्थलको उत्तरपूर्वी क्षेत्रमा नभएर दक्षिण–पश्चिम क्षेत्रतर्फ भएको भए इन्धन डिपोमै पर्न सक्ने थियो । एउटा दुर्घटनाले अर्को ठुलो दुर्घटना निम्त्याउन सक्ने खतरालाई बेलैमा समाधान गर्नु अत्यावश्यक देखिन्छ । 

डिपोलाई गुह्येश्वरीको खाल्डोनजिकको ५० रोपनी क्षेत्रफलमा सार्न नेपाल वायुसेवा निगमले पनि अनुरोध गर्दै आएको जनाएको छ । डिपो सार्ने विषयमा धेरैतिरबाट आवाज उठे पनि तालुकवाला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट कुनै किसिमको निर्देशन नआएको र डिपो सार्न प्राविधिक रूपमा निकै खर्चिलो र कठिन रहेको भन्दै आयल निगमले आलटाल गरेको छ । क्यानले आयल निगमलाई डिपो सार्ने विषयमा जानकारी गराए पनि सम्बन्धित मन्त्रालयगत निर्देशन आउनुपर्नेमा सो नभएर काम अगाडि नबढेको आयल निगमले अड्को थापेको देखिएको छ । हजारौँ किलोलिटर क्षमताका इन्धन भण्डारण ट्याङ्कीका कारण विमानस्थल र पार्किङ गरिएका जहाजसमेत उच्च जोखिममा छन् । सुरक्षाविज्ञका अनुसार डिपोतर्फ जहाज दुर्घटना भएको अवस्थामा दसौँ हजार सर्वसाधारण तथा विमानस्थल कर्मचारी जोखिममा पर्ने छन् । यस्तो जोखिमपूर्ण अवस्थामा कहिले दुर्घटना होला भनेर धराप थाप्नु कदापि हुँदैन । यसै पनि नेपालको हवाई सुरक्षाको विषयलाई लिएर बाह्य जगत्मा नकारात्मक टिप्पणी हुने गरेका छन् । विमानस्थलको सुरक्षा, दुर्घटना हुन नदिने उपाय, देखिएका कमजोरीमा सुधार तथा दुर्घटनापछिको उद्धार कार्यमा हरसम्भवका उपाय अवलम्बन गर्नेतर्फ सम्बन्धित निकायमा समन्वय र सहकार्य हुन वाञ्छनीय छ ।