• १३ असोज २०८१, आइतबार

काभ्रेमा पर्यटक बोकेको गाडी र टाटासुमो ठोक्किँदा पाँच जनाको मृत्यु

blog

तस्बिर : सामाजिक सञ्जाल

केदार तिमल्सिना

काभ्रे, वैशाख २१ गते । काभ्रेमा भारतीय पर्यटक बोकेको फोर्स गाडी र टाटासुमो ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । बुधबार दिउँसो काभ्रेको रोशी गाउँपालिका–११, बढुवेसीमा दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका  प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार भारतीय पर्यटक बोकेको यूपी ५८ टी ८१८१ नम्बरको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमाे ठोक्किँदा पाँच जनाको मृत्यु भएको हो । 

दुर्घटनामा ज्यान गुमाउनेमा सिन्धुलीको कमलामाई नगरपालिका ६ रामपुरका ३० वर्षीय विक्रम श्रेष्ठ, खाडादेवी गाउँपालिका ३ रामेछापकी सम्झना भुसाल, उनका ६ वर्षीय छोरा सङ्गीत भुसाल, सुनकोशी गाउँपालिका १ सिन्धुलीका ४४ वर्षीया प्रमिला नेपाली, सुमोका चालक कमलामाई नगरपालिका ४ सिन्धुलीका हरिबहादुर बल  छन् ।

त्यस्तै, दुर्घटनामा घाइते १९ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।


धुलिखेल अस्पतालमा उपचारमा घाइते । तस्बिरः केदार तिमल्सिना