रमेश विश्वकर्मा
गुल्मी, साउन १६ गते । गुल्मीमा पछिल्लो तीन वर्षमा २३८ जनाले आत्महत्या गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीको पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार झुण्डिएर, विष सेवन गरेर, पानीमा हाम फालेर र चक्कु प्रहार गरेर आत्महत्या गरेको देखिएको छ ।
यस अवधिमा झुण्डिएर २०७ जना, विष सेवन गरेर २३ जना, पानीमा हाम फालेर सात जना र चक्कु प्रहार गरेर एक जना गरी कुल २३८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ । कम्तीमा १३ वर्षदेखि बढीमा ८६ वर्ष उमेरका व्यक्तिले आत्महत्या गर्ने पाइएको छ ।
दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा आत्महत्याको अवस्था प्रत्येक वर्ष बढ्दै गएको पाइएको छ । मानसिक समस्याका कारण धेरै व्यक्तिले आत्महत्या गर्न सक्ने जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलले बताउनुभयो ।
आर्थिक वर्ष २०७८/०७९ मा यस जिल्लामा ७१ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७९/०८० मा ८१ जना र आर्थिक वर्ष २०८०/०८१ मा ८६ जनाले आत्महत्या गरेका छन् । तीन वर्षको अवधिमा यस जिल्लाका अन्य स्थानीय तहको तुलनामा सबैभन्दा बढी रेसुङ्गा नगरपालिकामा आत्महत्याको घटना बढेको जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ । यस नगरपालिकामा तीन वर्षमा ३१ जनाले आत्महत्या गरेका छन् ।
सबैभन्दा कम कालीगण्डकी गाउँपालिकामा आठ जनाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ । तीन वर्षको अवधिमा मुसिकोट नगरपालिकामा २९ जना, मदाने गाउँपालिकामा २० जना, मालिका गाउँपालिकामा १४ जना, धुर्कोट गाउँपालिकामा १४ जना, इस्मा गाउँपालिकामा २९ जना, गुल्मीदरबार गाउँपालिकामा १८ जना, छत्रकोट गाउँपालिकामा २० जना र रुरुक्षेत्र गाउँपालिकामा १७ जनाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै, चन्द्रकोट गाउँपालिकामा २२ जना र सत्यवती गाउँपालिकामा १६ जनाले आत्महत्या गरेका छन् । एकताको अभाव, आर्थिक विपन्नता, विभिन्न प्रकारका विभेद, महत्वाकाङ्क्षा, पारिवारिक कलह, पटक–पटकको असफलता, मदिरा सेवन गर्नु, प्रेममा असफल, कडा कानुन, बेइज्जत सहन नसक्नु, लागूऔषधको लतमा फस्नु र केही गर्न सक्दिनँ भन्ने हीनताबोध हुँदा अधिकांश व्यक्तिले आत्महत्या गरेका छन् ।
आत्महत्या रोकथाम तथा नियन्त्रणका लागि जिल्ला, स्थानीय तह र वडास्तरसम्म प्रहरी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र आर्युवेद नागरिक आरोग्यलाई समावेश गरी कार्यदल निर्माण गरिएको छ । कार्यदलले अभिमुखीकरण, सबै तह र संघसंस्थासँग समन्वय गर्ने, विद्यार्थी, सञ्चारकर्मी र समुदायलाई सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेको भन्दै विशेषगरी स्थानीय तहहरुले आत्महत्या रोकथाम तथा नियन्त्रणका लागि विशेष चासो दिन जरुरी रहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।
स्थानीय तहले परामर्शदाताहरु ल्याएर लक्ष्य समूहलाई परामर्श दिन आवश्यक रहेको छ । पछिल्लो समय यस जिल्लाका १२ वटै स्थानीय तहमा आत्महत्याको प्रयास गरेका मान्छेहरुको तथ्याङ्क सङ्कलन गरिएको भन्दै तिनीहरुलाई आत्महत्या गर्नबाट रोक्नका लागि विशेषज्ञ टोलीसहित परामर्श दिने तयारी गरिएको उहाँले बताउनुभयो ।