• १२ असोज २०८१, शनिबार

पद्मश्रीमा पाँच कृति छनोट

blog

काठमाडौँ, साउन १६ गते । पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच साहित्यिक कृतिको छनोट गरिएको छ ।

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, चितवनले २०६३ सालदेखि एक आर्थिक वर्षमा प्रकाशित नेपाली साहित्यका पुस्तकमध्ये उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कार चयन समितिको सिफारिस अनुसार प्रतिष्ठानमा प्राप्त पुस्तकमध्येबाट १५ पुस्तकको सूची सार्वजनिक गरिएको थियो । सो सूचीमध्येबाट उत्कृष्ट पाँच पुस्तक सार्वजनिक गरिएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

सोही सूचीबाट समितिले पद्मश्री साहित्य पुरस्कारका लागि एक कृतिको चयन गर्ने छ ।

प्रतिष्ठानका अनुसार पद्मश्री उत्कृष्ट पाँच पुस्तकमा कृष्ण गौतमको ‘अद्वैत’ (उपन्यास), सानु शर्माको ‘अर्को देशमा’ (कथासङ्ग्रह), रोशन शेरचनको ‘गल्ली संसार’ (निबन्धसङ्ग्रह), कुमार नगरकोटीको ‘जोगियाना’ (संस्मरण) र गोविन्दप्रसाद कुसुमको ‘भृकुटी’ (उपन्यास) रहेको छ ।