सिराज खान
नेपालगन्ज, साउन १६ गते । जडीबुटी निकासीको प्रमुख नाका मानिएको नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८०/८१ मा ७५ करोडभन्दा बढीको जडीबुटी निकासी भएको छ ।
नेपाल जडीबुटी व्यवसायी सङ्घले विभिन्न प्रकारका समस्या र अवरोधका बाबजुद पनि गत आवमा ७५ यो नाकाबाट करोडको जडीबुटी निकासी भएको जनाएको छ ।
नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माले निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट विभिन्न प्रकारका समस्या र चुनौती रहे पनि पश्चिम नेपालका व्यवसायीले एक वर्षमा ७५ करोड ४६ लाख ५० हजार रुपियाँको जडीबुटी निकासी गर्न सफल भएको बताउनुभयो । उहाँले गत केही वर्षयता नेपाली जडीबुटीप्रति भारतको कडा रबैया र नेपाल सरकारकै अस्पष्ट नीतिका कारण जडीबुटी निकासीमा समस्या हुँदै आए पनि व्यवसायीले उत्साहजनक रूपमा जडीबुटी निकासी गरेको बताउनुभयो ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आव २०८०/८१ मा नेपालगन्ज नाकाबाट ७५ करोड ४६ लाख ५० हजार मूल्य बराबरको २६ लाख ६७ हजार ५३ किलोग्राम विभिन्न जडीबुटी निकासी भएको थियो ।
अघिल्लो आव २०७९/८० मा यो नाकाबाट ८२ करोड ८० लाख २४ हजार मूल्य बराबरको जडीबुटी निकासी भएकोमा गत आवमा अघिल्लो वर्षको तुलनामा सात करोडले कमी आएको भन्सार कार्यालयले जनाएको छ ।