• १६ भदौ २०८१, आइतबार

मत्स्येन्द्रनाथकी प्रेमिकालाई फूलप्रसाद

blog

ललितपुर, साउन १५ गते । रातो मत्स्येन्द्रनाथ (करुणामय) को पानेजु (पुजारी) ले सोमबार कीर्तिपुरकी याकः मिसालाई फूलप्रसाद चढाउनुभएको छ । कीर्तिपुरका ७३ वर्षीय लक्ष्मीकुमारी महर्जन (याकः मिसा) लाई मत्स्येन्द्रनाथको फूलप्रसाद चढाउनुभएको हो । अविवाहित महर्जनलाई याकः मिसा एवं कन्या कुमारी मानेर उक्त प्रसाद चढाइएको हो ।

सांस्कृतिक अभियन्ता नारायण महर्जनका अनुसार अबको चार दिनपछि तानिने मत्स्येन्द्रनाथको जात्रामा सहभागी हुन कीर्तिपुरवासीलाई निमन्त्रणा गरिएको अर्थमा यो प्रसाद चढाउने गरिन्छ । रातो मत्स्येन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल लैजानुभन्दा चार दिनअघि मूलपुजारी (पानेजु) खाली खुट्टा हिँडेरै प्यंगथाँ पुगी याकः मिसालाई फूल चढाउने गरिन्छ । याकः मिसालाई मत्स्येन्द्रनाथकी जीवित ‘प्रेमिका’ का रूपमा लिइन्छ ।

याकः मिसाले प्रसाद लिइसकेपछि उहाँकै खलकका अन्य कुमारी कन्याले फूलप्रसाद लिने चलन छ । त्यसपछि कीर्तिपुरका अन्य महर्जन समुदायका अविवाहित केटी यो विधिमा सरिक हुन पाउँछन् । प्यंगथाँकी कुमारी कन्यालाई मत्स्येन्द्रनाथकी प्रेमिका मान्ने चलन रथयात्रा जत्तिकै पुरानो भएको जनविश्वास छ । यो जात्रा कम्तीमा चौध सय वर्ष पुरानो हो भन्ने मान्यता रहेको छ ।

लक्ष्मीकुमारी महर्जनले पहिलो पटक मत्स्येन्द्रनाथको नामबाट फूलप्रसाद लिँदा १० वर्षकी हुनुहुन्थ्यो । त्यसयता ६३ वर्षदेखि निरन्तर मत्स्येन्द्रनाथकी  ‘प्रेमिका’ का रूपमा समर्पित हुनुहुन्छ । उहाँ अविवाहित भएको हुनाले अरू कसैले त्यो ठाउँ लिन सकेका छैनन् । वैशाख २७ गते रथारोहण गराएको रातो मत्स्येन्द्रनाथलाई २९ गते शनिबार रथयात्रा गराइएको थियो । यही साउन १७ गने रथ तानेर जावलाखेलमा पु¥याइने छ । अर्को साइत हेरेर राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत् रूपमा जात्रा समापन हुने गर्छ । 

गुठी संस्थानले याकः मिसाका लागि वार्षिक पाँच हजार ५५५ को दक्षिणा दरबन्दी कायम गरिएको जनाइएको छ । गुठी संस्थानद्वारा सोमबार जारी विज्ञप्ति अनुसार रातो मत्स्येन्द्रनाथको रथ जात्रासँग सम्बन्धित याकः मिसाका निमित्त पानेजुले फूलप्रसाद चढाउने दिनमा कार्यालयको प्रतिनिधि गई सो दक्षिणा दिने जनाइएको छ । सो रकम दुई वर्षको १० प्रतिशतका दरले बढाउने पनि गुठी संस्थानले जनाएको छ ।