• १२ पुस २०८१, शुक्रबार

‘स्कुल बसको गति नियमन गर्न सुझाव’

blog

काठमाडौँ, साउन १४ गते । प्रतिनिधिसभाको आजको बैठकमा विद्यार्थी बोकेको स्कुल बस कास्कीको पोखरा महानगरपालिका-२१ मा दुर्घटनामा परेको विषय उठेको छ । आजको बैठकको आकस्मिक समयमा सांसद शिव नेपालीले तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको निष्कर्ष रहेको उल्लेख गर्दै स्कुल बसको गति सीमित बनाउने नीति बनाई नियमन गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “बसका चालकले तोकिएको गतिभन्दा बढीमा सञ्चालन गरिरहेका हुन्छन् । सोही कारणले सरकारले स्कुल बस सञ्चालनसम्बन्धी आवश्यक नीति बनाई कडाइसाथ कार्यान्वयन गर्नुपर्ने हुन्छ ।” कास्की जिल्ला पोखरा महानगरपालिका-२१ मटिखान नजिकै एलपी देवकोटा मेमोरियल इङ्लिस बोर्डिङ स्कुलको बस आज बिहान दुर्घटनामा परेको थियो । 

दुर्घटनामा छ वर्षीय प्रिन्स विक र ३३ वर्षीया आरती विकको मृत्यु भएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सांसद नेपालीले भन्नुभयो, “पछिल्लो समयमा सडक तथा हवाई दुर्घटना बढेको छ, उड्नेबाट यात्रा गरे शव नचिनिने र गुड्नेबाट यात्रा गरे शव नभेटिने अवस्था छ, दुर्घटना न्यूनीकरणमा सरकारको ध्यान जानुपर्छ ।”

सांसद नेपालीले बिपी कोराइलाले ‘उत्पादन र उद्यमशीलतामा जोड दिनुपर्छ’ भन्ने भनाइलाई स्मरण गर्दै नेपालमा प्रजातन्त्र, गणतन्त्र आए पनि तीनै तहका सरकारले सही ढङ्गबाट काम गर्न नसकेको बताउनुभयो । गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय यातायातसम्बन्धी ऐन, कानुन तथा नियमावली जारी गरे पनि सो ऐन, कानुन तथा नियमावली यातायात व्यवसायीविरुद्ध भएको उहाँको भनाइ छ । 

“कानुनका कैयौँ बुँदा यातायात व्यवसायी विरुद्धमा छन्, यातायात महासङ्घ, स्थानीय समितिसँग छलफल नै नगरी ऐन ल्याइएको देखिन्छ,” उहाँले भन्नुभयो । सांसद रोशन कार्कीले महिला हिंसाको उजुरी परेका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानका बारेमा आवश्यक छानबिन गरी निर्णय गर्नुपर्ने बताउनुभयो । रासस