• १३ साउन २०८१, आइतबार

गठबन्धनका उम्मेदवारमा पुरुष बढी

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, वैशाख २१ गते । सिन्धुलीमा गठबन्धनका उम्मेदवारमा पुरुष बढी देखिएका छन् । नौवटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा सत्ता गठबन्धनका दलमध्ये नेपाली काँग्रेसले पाँच र नेकपा (माओवादी केन्द्र)ले चारवटा स्थानीय तहमा प्रमुख तथा उपप्रमुख पद बाँडफाँट गरेका छन् । काँग्रेसले प्रमुख पाएको कमलामाई नगरपालिका, घ्याङलेख गाउँपालिका, फिक्कल गाउँपालिका, गोलन्जोर गाउँपालिका र तीनपाटन गाउँपालिकामा उप–प्रमुख पद नेकपा (माओवादी केन्द्र)ले पाएको छ ।

त्यस्तै माओवादी केन्द्रले प्रमुख पद पाएको दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोसी गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा उप–प्रमुख काँग्रेसले पाएको छ । यीमध्ये काँग्रेस र माओवादी केन्द्रले एक–एक जना महिलालाई उम्मेदवार बनाएको छ । सुनकोसी गाउँपालिकामा प्रमुख पदमा दीपा बोहोरा र मरिण गाउँपालिकामा काँग्रेसले उप–प्रमुखको उम्मेदवारी विमला माझीलाई उम्मेदवार बनाएको हो । 

बाँकी सबै प्रमुख तथा उप–प्रमुखमा पुरुष उम्मेदवार रहेका छन् । सक्षम भएर पनि महिला स्थानीय तहको मुख्य पदमा आउनबाट रोकिएका स्थानीय बासिन्दा बताउँछन् । राजनीतिमा महिला सहभागिता बढाउन संवैधानिक रूपमै स्थानीय तहको प्रमुख या उप–प्रमुखमा महिला हुनुपर्ने व्यवस्था भए पनि गठबन्धनका कारण महिलाको प्रतिनिधित्व खुम्चिएको महिला नेत्रीहरूको गुनासो रहेको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा दुधौली नगरपालिकामा प्रमुख पदमा काँग्रेसको उम्मेदवार तथा नेपाल महिला सङ्घ सिन्धुलीको अध्यक्ष गङ्गा दाहालले आफूहरूलाई संविधानले दिएको अधिकार प्रयोग गर्न नपाएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “स्थानीय तहको प्रमुख तथा उप–प्रमुख बन्न महिलालाई पुरुषले हेपेको देखियो । महिलालाई महìव नदिएको, बेवास्ता गरिएको छ । यसप्रति हाम्रो आपत्ति छ ।” पार्टीले टिकट नदिएपछि  मरिण गाउँपालिका उपाध्यक्ष सङ्गीता माझीले नेकपा (एमाले) प्रवेश गरी पुनः उपाध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । नेकपा (एमाले)ले भने नौवटै स्थानीय तहको उपप्रमुखमा महिला उम्मेदवार बनाएको जनाएको छ ।