• १३ साउन २०८१, आइतबार

मेचीनगरमा आन्तरिक राजस्व सङ्कलन १३ करोडभन्दा बढी

blog

झापा, साउन १३ गते । मेचीनगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक राजस्व १३ करोड ५२ लाख पाँच हजार आठ सय ९७ सङ्कलन गरेको छ । आव २०७९/८० तुलनामा एक करोड ९० लाख ८४ हजार दुई सयबढी राजस्व सङ्कलन भएको हो ।

नगरकी राजस्व परामर्श समितिका संयोजक एवम् नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले आव २०७९/८० मा आन्तरिक राजस्व ११ करोड ६१ लाख २१ हजार छ सय ९७ सङ्कलन भएको जानकारी दिनुभयो । एक वर्षमा दुई करोडको हाराहारीमा आन्तरिक आयस्राेत वृद्धि हुनु आर्थिक दृष्टिले उत्साहजनक रहेको उहाँले बताउनुभयो ।

नगरपालिकाको राजस्व उपशाखाले विभिन्न ५० शीर्षकमा करबापत राजस्व सङ्कलन गर्दै आएको छ । सम्पत्ति करतर्फ तीन करोड ४० लाख १९ हजार छ सय ४५ र अन्य सेवा शुल्कबापत दुई करोड ३१ लाख ९७ हजार तीन सय ८१ सङ्कलन भएको छ । व्यवसाय कर, नक्सा पास दस्तुर, सिफारिस दस्तुरलगायत शीर्षकमा कर सङ्कलन गरिने उहाँले जानकारी दिनुभयो ।

मेचीनगरमा रहेका १५ वडामध्ये वडा नम्बर ६ ले उक्त अवधिमा सबैभन्दा बढी एक करोड ७६ लाख २७ हजार सात सय एक राजस्व सङ्कलन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिनुभयो । दोस्रोमा वडा नम्बर १० रहेको बताउँदै यसले एक करोड ६३ लाख ९९ हजार पाँच सय ४५ राजस्व सङ्कलन गरेको उहाँले बताउनुभयो ।

वडागत रुपमा सबैभन्दा बढी सम्पत्ति कर वडा नम्बर १० ले ५९ लाख ७९ हजार ४३ सङ्कलन गरेको छ । नगरपालिकाले चालु आवमा १६ करोड ७७ लाख आन्तरिक आय सङ्कलन गर्ने लक्ष्य लिएको राजस्व उपशाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले बताउनुभयो । चालु आवमा नगरको कूल बजेट दुई अर्ब पाँच करोड २९ लाख दुई हजार रहेको छ । रासस