• १२ साउन २०८१, शनिबार

काँग्रेस कञ्चनरुपको घोषणापत्र सार्वजनिक

blog

काँग्रेस कञ्चनरुपको घोषणापत्र सार्वजनिक हुँदै । तस्बिर :माला कर्ण

कल्याणपुर समाचारदाता 

कल्याणपुर, वैशाख २१ गते । महिलालाई निःशुल्क सेनेटरी प्याड र जङ्गली जनावर आक्रमण रोकथामको पूर्ण बाचासहित सप्तरीको कञ्चनरूप नगरपालिकामा नेपाली काँग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।नेपाली काँग्रेसबाट नगरपालिकाको प्रमुख पदका उम्मेदवार ललन गुप्ताले चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा नगरपालिकाका सबै महिलालाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने उल्लेख छ ।

सेनेटरी प्याडको उद्योगसमेत सञ्चालन गरी महिला स्वास्थ्य स्वयं सेविकालाई आयआर्जनमा आत्मनिर्भर बनाउने, गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याउने, गर्भवती तथा सुत्केरी महिलालाई मासिक पोषण भत्ता उपलब्ध गराउनेलगायतका प्रतिबद्धता उल्लेख छ ।

सो घोषणपत्रमा सडकका प्रत्येक चोक–चोकमा सोलार बत्ती जडान गर्ने, सीसीटीभी क्यामेरा जडान गर्ने, फ्री वाइफाइ जडान गर्ने, उच्च शिक्षाका लागि उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, दलित समुदायको उच्च शिक्षामा पहुँच पु-याउन विशेष योजना ल्याउने, एक वर्षभित्रमा दुईवटा उद्योग स्थापना गर्ने र त्यसबाट रोजगारी सृजनाका साथै सीपमूलक तालिमको आयोजना गर्ने उल्लेख छ ।

त्यस्तै कृषि क्षेत्रमा किसान वर्गको लागि कृषिसम्बन्धी आयमुलक, सेवामुलक तालिम तथा बिउविजन, खाद्य मलको व्यवस्था गर्ने, आवश्यकताअनुसार हरेक वर्ष सबै वडामा समरसेल (बोरिङ) प्रदान गर्ने, स्मार्ट सिटीको सेवामुलक तालिम प्रदान गरी व्यवस्थापन गर्ने साथै कोसी टप्पुका जङ्गली जनावरको आक्रमणलाई रोकथाम गरिनेलगायतका प्रतिबद्धता घोषणापत्रमा रहेको काँग्रेका नेता विनोदकुमार दत्तले जानकारी दिनुभयो । 

त्यस्तै उहाँले पूर्वाधार तर्फ उज्यालो कञ्चनपुर कार्यक्रमअन्तर्गत प्रत्येक टोलका सडकमा सोलार प्रविधिको माध्यमबाट सडक बत्ती जडान गर्ने, नगरपालिकाभित्र सेवा सुविधा सम्पन्न बसपार्क निर्माणको पहल गर्ने जस्ता प्रतिबद्धतासमेत गरेको जानकारी दिनुभयो । 

मत माग्न उम्मेदवार इदगाहमा

यसैगरी मुस्लिम समुदायको पवित्र स्थल इदगाहमा सप्तरीका उम्मेदवारले इदगाह पुगेर मत मागेका छन् । जिल्लाको खडक नगरपालिकाका नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार जयप्रकाश चौधरी, उपप्रमुखका उम्मेदवार शत्रुध्नप्रसाद साह (अजाद), नेपाली काँग्रेस प्रमुख पदका उम्मेदवार सिताराम साह र उपप्रमुख यासमिन सुल्तानलगायतका उम्मेदवार बिहान इदगाह पुगेर इस्लाम धर्मावलम्बीको महत्त्वपूर्ण चाड इदको शुभकामना दिँदै मत मागेका छन् ।